काठमाण्डाै । राजपाका नेताहरूलाई झटका, कांग्रेस र माओवादी चुनाव सार्न मानेनन्काठमाडौँ, जेठ २८ गते ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असार १४ गते तय भएको स्थानीय तहको चुनाव सार्न सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेको छ । मधेशवादी दलले राखेको माग चुनावअघि पूरा गर्न नसकिने सत्तारूढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले स्पष्ट पारेपछि राजपा नेपालका नेताहरूले त्यसो भए माग पूरा गराउन चुनावको मिति सारौँ भनी प्रस्ताव गरेको बैठकस्रोतले जनाएको छ ।

 “‘असार १४ गते आउन १९ दिनमात्र बाँकी छ, असार २ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ, यो छोटो समयमा माग पूरा गराउनतिर लागियो भने समय नपुग्ने” सत्तारूढ दलले भनेपछि राजपा नेपालले चुनावको मिति सार्न प्रस्ताव गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार मध्याह्न भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि कुनै पनि माग पूरा गर्ने सम्भावना नरहेकाले पार्टी दर्ता गराएर पुराना छ दलमध्ये कुनैको एउटा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन राजपा नेपालका नेताहरूलाई आग्रह गर्नुभएको छ ।  अहिलेलाई राजपा नेपाल दर्तामात्र गराउन सकिन्छ भनी उहाँले प्रस्ट पार्नुभएको थियो ।

संंविधान संशोधन, स्थानीय तहको सङ्ख्या थप्ने लगायतका माग पूरा गर्ने प्रक्रियामा गयो भने चुनावको मिति प्रभावित हुने भएकाले तोकिएको मितिमा पहिला चुनाव सम्पन्न गरौँ, त्यसपछि अन्य मागका बारेमा छलफल गरी टुङ्गो लगाउने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेको राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाको यो प्रस्ताव राजपा नेपालका नेताहरूले स्वीकार गर्नुभएन ।  अध्यक्षमण्डलका सदस्य भण्डारीले भन्नुभयो, “चुनाव आफूहरूको कुनै कार्यसूची नै होइन, चुनावका लागि आफूहरूले आन्दोलन पनि गरेको होइन, चुनावमा आफूहरू जाने नजाने सरकारको सरोकारकै विषय होइन, आफूहरूको माग पूरा गरोस् त्यसपछि आफूहरूले चुनावको बारेमा छलफल गर्ने भनी जवाफ दिएका छौँ । ”

“चुनावविरोधी आफूहरू होइन, माग पूरा होस् अनि चुनावमा जान्छौँ” भन्ने कुरा पहिलादेखि नै भन्दै आएको बताउँदै उहाँले सत्तारूढ दलले वार्तामा बोलाएर पटकपटक एउटै कुरा दोहो-याउने गरेको, जो पहिला पनि सोही विषयमा कैयौँपटक छलफल भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कुनै नयाँ माग राखेका छैनौँ, यसअघिका सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि आग्रह गरेका छौँ, यो कुनै नयाँ सरकार होइन, पुरानै सरकारको निरन्तरता हो, हाम्रो माग पूरा नभएसम्म चुनावमा सहभागी हुँदैनौँ भन्ने कुरा स्पष्ट रूपमा राखेका छौँ । ”

राजपाका अध्यक्षमण्डलका सदस्य भण्डारीले गठबन्धन सरकारको सुरुआतमै तीनबुँदे सम्झौता भएको र आजसम्म कुनै माग पूरा नभएकाले निर्वाचनमा जाने वातावरण नरहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया