२९ जेठ, दिलिप साह राजविराज। भविष्यका कर्णधार मानिने बालबालिकाहरु आफ्नो नेतृत्व विकासका लागि सक्रिय भइरहेका छन ।  औपचारिक शिक्षाले बालबालिकाको पूर्ण विकास नहुने भएको हुँदा भविष्यको बाटोमा अप्ठ्यारो आउन नदिन नेतृत्व विकासमा सक्रिय हुने गरेका छन ।

नेतृत्व विकास तालिममा लिइदै बनौलीका बालबालिका ।

सप्तरीको खडक नगरपालिका–११ साविक बनौली गाविसको सहयोगमा परिवर्तन मानव विकास समाज नेपालले बालबालिकाहरुको लागि सञ्चालन गरेको तीन दिने नेतृत्व विकास तालिममा त्यहाँका बालबालिकाहरु सक्रिय भएका हुन ।  बाल अधिकार, बाल विवाह, बाल श्रम, बाल सहभागिता, बालसंरक्षण लगायतको विषय सहित नेतृत्वको गर्ने क्षमताका बारेमा समेत प्रशिक्षण दिएको महिला बालबालिका तथा युवा सशक्तिकरण नेपालका अध्यक्ष तथा प्रशिक्षक बौआलाल यादवले जानकारी दिनुभयो ।

तालिमको समापन समारोहमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा प्रशिक्षक धीरेन्द्रप्रसाद साहले बालबालिकाको शारीरिक विकाससँगै मानसिक परिपक्वताको आधारमा आवश्यक तालिमको खाँचो रहेको भन्दै उहाँले बालअधिकार र कर्तव्य बारे सबै बालबालिकालाई जानकारी नहुँदा ठूलाबडाको चेपुवामा पर्ने गरेको बताउनुभयो । घरपरिवार, विद्यालय, समाजमा रहेका सबै बालबालिकालाई बालअधिकार र कर्तव्यको विषयमा जानकारी गराउनु पर्नेमा जोड दिदै उहाँले भन्नुभयो, समाजका अगुवाहरुले विभिन्न कार्यक्रममा बालबालिकालाई सहभागी हुन दिदैनन् र सहभागी भयो भने बोल्न पनि दिदैनन् । तालिममा ५० जना बालबालिकाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया