काठमाडौं, ३० जेठ । आन्तरिक राजस्व विभाग अन्तर्गत २ नम्बर कर कार्यालयमा रहँदा मदिरा पिएर दराज तोडफोड गरी करदाताको फाइल लैजाने शाखा अधिकृत देवानन्द काफ्लेले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिव हुन सबै शक्ति लगाएर दौडधूप गरिरहेका छन् ।

राजश्व छलीको अनुसन्धान गर्न लिइएको खातापाता राति कार्यालयको दराज फोरेर व्यवसायीलाई फिर्ता दिएको भियोगमा ४५ दिन हिरासतमा बसी सरकारी वकिलसँग मिलेर मुद्दा जितेका काफ्ले मन्त्री कार्कीको पीए हुन सपत्नी उनको घरमा दैनिक धाउन थालेका छन् ।

आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर २ मा हुँदा शाखा अधिकृतद्वय देवानन्द काफ्ले र घनश्याम उपाध्यायले २०६७ फागुन २० मा डिल्लीबजारको एसआरआर इन्टरप्राइजेजको फाइल दराज फोरेर झिकी सम्बद्ध व्यवसायीलाई बुझाएका थिए ।

०६७ फागुन ११ मा कार्यालयले छापा मारेर एसआरआरको खातापाता नियन्त्रणमा लिएको थियो । राति दराज फोरिएको खुलासा भएपछि भोलिपल्टै अधिकृतद्वयका साथै एसआरआर इन्टरप्राइजेजका सञ्चालकहरु शमशेरबहादुर श्रेष्ठ र राजेश भण्डारीलई राजश्व अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

घटनामा संलग्न नभएपनि कार्यालयमा अनुशासन कायम गर्न नसकेको भन्दै प्रमुख कर प्रशासक जन्मजय रेग्मीलाई अर्थ मन्त्रालयबाटै गृहमा सरुवा गरिएको थियो । दराज फोड्ने काफ्ले र उपाध्यायलाई सरुवा नगरी प्रमुख रेग्मीलाई मात्र गृहमा पठाइएको थियो । पछि वर्षमान पुन अर्थमन्त्री भएपछि रेग्मी फेरि अर्थमा आएर राजश्व अनुसन्धान विभागको महानिर्देशक भएर अवकाश भएका छन् ।

पाँच वार्ष बढुवा रोक्का भएका काफ्ले माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएर लिनुसम्म फाइदा लिए । २ नम्बर कर कार्यालय, नेपालगंज कर कार्यालय लगायतको कर कार्यालयमा बसी भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका काफ्ले पछिल्लो समयमा कांग्रेस निकट निजामती कर्मचारी युनियन संघको अर्थमन्त्रालय विभागीय उपाध्यक्ष छन् ।दृष्टि साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया