काठमाडौं, १ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्ने–नगर्नेमा सरकार द्विविधामा छ । निर्वाचनकै विषयमा छलफल गर्न सत्तारुढ, प्रमुख प्रतिपक्षी र राष्ट्रिय जनता पार्टी(राजपा)को बुधबार बसेको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

बैठकमा एमालेले कुनै पनि हालतमा चुनाव सार्न नसकिने र राजपा चुनाव सार्नैपर्ने अडानमा रहेपछि बैठक अनिर्णीत बनेको हो । दुई पक्षको अडानमा सरकार चेपुवामा परेको छ । राजपाले संविधान संशोधन नभईकन निर्वाचनमा भाग नलिने अडान राखेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनको कार्यतालिका सार्न प्रस्ताव राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप चेपुवामा परेका छन् । प्रचण्डले ‘निर्वाचन १४ असारमै गर्नुपर्ने तर राजपालाई सजिलोका लागि कार्यतालिकामा सामान्य हेरफेरका विषयमा सोच्न सकिने’ बताएका थिए । उनको आसय उम्मेदवारी दर्ताको समय एक-दुई दिन सार्न सकिने थियो ।

सरकारले आयोगसँग परामर्श गर्ने
प्रधानमन्त्री देउवाले निर्वाचनको निर्धारित मिति र आयोगले बनाएको कार्यतालिकाका विषयमा बिहिबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

‘आयोगसँग सरकारका तर्फबाट बिहान ९ वजे प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय भएको छ । आयोगले अहिलेसम्म गरिरहेको निर्वाचन तयारी र अब के गर्न सकिन्छ भन्ने विषयमा आयोग पदाधिकारीसँग छलफल हुन्छ,’ काग्रेस महामन्त्री डा शशांक कोइरालाले भने । उनका अनुसार, कार्यतालिकामा हेरफेर गरेर राजपालाई सहभागी गराएर तोकिएकै मितिमा निर्वाचन गराउन सक्ने-नसक्ने विषयमा सरकारले आयोगका पदाधिकारीसँग छलफल गर्नेछ ।

निर्वाचन आयोगले पनि दलहरुले आग्रह गरेमा उम्मेदवारी मनोनयन दर्ताको समयमा बढीमा दुई दिन सार्न सक्ने संकेत गरेको छ । त्यसो हुँदा उम्मेदवारको प्रचार प्रसारको समय भने घट्ने आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।

५ असारमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह दिने निर्वाचन आयोगको अहिलेको कार्यतालिकामा छ । २ असारमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रधानमन्त्रीसँगको भेट अगाडी आयोगले पनि पदाधिकारीको बैठक बोलाएको छ । बिहान ८ वजे आन्तरिक छलफल पछि मात्र प्रधानमन्त्री लगायतका दलका प्रतिनिधीसँग भेटने योजना आयोगका पदाधिकारीले बनाएका छन् ।

आयोगसँगको छलफल पछि फेरि बैठक
बिहिबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि प्रमुख दलहरुको संयुक्त बठक बस्दैछ । ‘राजपाले प्राविधिक मात्र होइन, आफुहरुका राजनीतिक मुद्दा पनि सम्वोधन हुनु पर्यो भन्ने माग गरिरहेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘अहिले संविधान संसोधन गर्न सकिदैन, १४ असारमै निर्वाचन गर्ने गरि सामान्य कार्यतालिकामा हेरफेर भने गर्न सकिन्छ । निर्वाचन आयोगसँग छलफल पछि पूनः बैठक बसेर एउटा समझदारी खोज्ने प्रयास हुन्छ ।’

राजपा कार्यतालिका संसोधन गर्दा पनि निर्वाचनमा नआए थप लचिलो हुनसक्ने संम्भावना नरहेको भन्दै सत्तापक्ष निर्धारित मितिमै निर्वाचन गराउने योजना रहेको कांग्रेस महामन्त्री कोइरालाले बताए । ‘अब राजपा निर्वाचननमा आउनै नचाहे पनि १४ असारमै निर्वाचन गराउनु पर्छ,’ उनले भने ।अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया