काठमाडौं, १ असार । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् ।

बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धारमा विभेद भएको भन्दै अन्य घाइतेका आफन्त आक्रोशित भएका छन् । प्रत्यक्षदर्शी दीपक दशौदीका अनुसार धेरैजसो घाइतेको अवस्था गम्भीर छ ।

बाँकी घाइतेलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँछ भनेर कुराइएको दशौदीले बताए । एक घन्टासम्म पनि हेलिकोप्टर नआएपछि चारवटा एम्बुलेन्समा घाइतेलाई कोचाकोच गरेर सुर्खेततर्फ लगिएको उनले बताए । दुर्घटनास्थलबाट सुर्खेत पुग्न पाँच घन्टा लाग्छ ।

प्रहरीका अनुसार घाइतेहरू प्रतिक्रिया दिन नसक्ने अवस्थामा भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय वासिन्दा र प्रहरीको संयुक्त प्रयासमा उद्धार भएको थियो ।

सडकबाट करिब तीन सय मिटर तल खसेको बस टुक्राटुक्रा अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शी स्थानीयवासी दीपक दशौदीका अनुसार चालक सकुशल अवस्थामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय राकम कर्णालीमा राखी उपचार गरिएको छ ।

प्रहरीका अनुसार चालक प्रेम सुनारले उक्त सडकखण्डमा पहिलोपटक बस लगेका थिए । बस मालिकले ‘सडक ठिकै छ केही हुँदैन’ भनेपछि ना ४ ख २९९८ नम्बरको पवनदूत यातायातको बस लिएर उनी महेन्द्रनगरबाट कालीकोट पुगेका थिए । त्यहाँबाट महेन्द्रनगर फर्कने क्रममा बस दुर्घटनामा परेको हो ।

दुर्घटना भएको १५ मिनेटपछि गाडी चालक सुनार आफैँ प्रहरी चौकी पुगेर खबर गरेका थिए । त्यसपछि मात्र प्रहरी उद्धारका लागि खटिएको थियो । सहचालक प्रेम शाही सामान्य घाइते छन् ।

सनाखत भएका मृतक
कालिकोट रासकोट नपा–५ का ३२ वर्षीय धर्मराज शाही र १८ वर्षीय प्रकाश शाही, रासकोट नपा–६ का ३४ वर्षीय युवराज शाही, १८ वर्षीया कविता शाही र २२ वर्षीया मेनका फर्सालको मृत्यु भएको छ । त्यस्तै शान्नी त्रिवेणी गाउँपालिकाका प्रकाश शाही, अछाम भैरवस्थानका धीरेन्द्र बिसी, विनायक नगरपालिका अछामका सिंह नेपाली र रूपा नेपाली, बाजुराका मंगल उखेडाको पनि मृत्यु भएको छ । एक मृतकको अझै सनाखत हुन बाँकी छ ।

आफ्नै साथीको शव निकालेँ
दीपक दशौदी, कर्मचारी, सहरी विकास आयोजना, राकम कर्णाली

दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । बस कर्णाली नदीमाथि भीरमा अड्किएको छ । म दुर्घटना भएको थाहा पाउनेबित्तिकै त्यहाँ पुगेँ । बस टुक्राटुक्रा थियो । मृतक र घाइतेहरू बसबाट उछिट्टिएको अवस्थामा थिए । त्यहाँ पुगेपछि एकछिन आत्तिएँ । मृत्यु भएका धेरै थिए । चिनेका अनुहार छन् कि भनेर हेर्दै थिएँ । एकाएक आफ्नै साथीको मृत्यु भएको हल्ला चल्यो । झन् तनाव भयो ।

राकम कर्णाली कृषि सेवा केन्द्रका जेटिए धीरेन्द्रकुमार बिसीको शव मेरै अगाडि थियो । आज (बुधबार) बिहान मात्रै फिल्डको काममा गएका थिए । अस्ति (सोमबार) बिहान कुराकानी भएको थियो ।

चुनावमा पनि सँगै खटिएका थियौँ । उनी दुर्घटना हुनुभन्दा १० मिनेटअघि मात्र बस चढेका रहेछन् । राकम कर्णाली फर्कन बस चढेका थिए । उनले केही दिनमा नै बिहे गर्ने भनेका थिए । उनको सपना पूरा भएन ।अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया