काठमाडौं । प्रदेश नम्बर २ को निर्वाचन स्थगित गर्ने गरी राजपा नेपाललाई सहमतिमा ल्याएको बिहीबारको बैठकको सुरुवातमा भने राजपा नेपालले अघिल्ला दिनजस्तै संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने अडान राखेको थियो । तर, प्रधानमन्त्रीसहित सत्तापक्षीय दलका नेताहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको भन्दै पटकपटक प्रतिबद्धता जनाएका थिए ।

बैठकको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेताहरूलाई निर्वाचनमा आउन आग्रह गरेका थिए । त्यपछि बोलेका माओवादी अध्यक्ष प्रचण्डले पनि राजपाका नेताहरूको माग सम्बोधन गर्न सरकारले गरिरहेको पहलका विषयमा जानकारी दिँदै निर्वाचनमा सहभागी हुन जोड गरे । तर, राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले मोर्चाका माग विगतमा राखिसकेको भन्दै यथावस्थामा आउन नसक्ने जानकारी दिए । उनले पार्टी आन्दोलनमा रहेको बताए ।

फेरि प्रधानमन्त्री देउवा बोले । देउवाले राजपा नेताहरू जिद्दी नै गरिरहने हो भने २ नम्बर प्रदेशको निर्वाचन केही समयपछाडि सार्न सरकार तयार रहेको बताए । उनले भने, ‘२ नम्बर प्रदेशको निर्वाचन सार्न सरकार तयार छ, अरू तीन प्रदेशको निर्वाचन १४ असारमै गर्ने हो, ल अरू कुरा धेरै नगर्नुहोस्, निर्वाचनमा आउनुहोस् ।’

त्यसपछि राजपाका अर्का नेता शरत्सिंह भण्डारी बोल्न थाले । उनले भने, ‘५ नम्बर प्रदेशका तीनवटा क्षेत्रमा राजपामध्येकै तमलोपाले प्रत्यक्ष जितेका क्षेत्रहरू छन्, त्यसको पनि निर्वाचन सार्नुपर्छ ।’ दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाका नेताहरू कमलेश्वरपुरी गोस्वामीले रुपन्देही ७, वृजेशलाल गुप्ता कपिलवस्तु ३ र सर्वेन्द्रनाथ शुक्लले रुपन्देही ६ मा प्रत्यक्षमा चुनाव जितेका थिए । यस हिसाबले कपिलवस्तु, रुपन्देहीमा पनि चुनाव सार्नुपर्ने माग भण्डारीको थियो ।

सत्तापक्षका नेताहरूले भने २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय पनि अप्रिय रूपमा गरेको भन्दै अब त्यसबाट अन्य क्षेत्रको भने सार्न नसक्ने बताए ।

त्यसपछि महन्थ ठाकुर पुनः बोल्न थाले । उनले भने, ‘निर्वाचनमा भाग लिन निर्वाचन आयोगले २ असारमै मनोनयन दर्ता गर्ने कार्यतालिका राखेको छ । हामीले तयारी गरेका छैनौँ, कसरी उम्मेदवारी दर्ता गर्न सकिन्छ ? फेरि राजपाका केही नेताहरू मधेसमा आन्दोलनका लागि जानुभएको छ । उहाँहरूसँग पनि सल्लाह गर्नुपर्नेछ । फोन नलाग्न सक्ला । यस विषयमा समय चाहिन्छ ।’

त्यसपछि फेरि सत्तापक्षका नेताहरूले निर्वाचन आयोगसँग दुई दिनपछाडि उम्मेदवार मनोनयन गर्ने गरी कार्यतालिका हेरफेरका लागि आग्रह गर्ने बताए । ४ असारमा उम्मेदवार मनोनयनपत्र दर्ता गराउन राजपा नेताले निर्वाचन चिह्नबारे जिज्ञासा राखे ।

सत्तापक्षका नेताहरूले सकभर कुनै पार्टीको चुनाव चिह्नमा लड्न, नभए स्वतन्त्रबाट चुनाव लड्न सुझाब दिएका थिए । साझा पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुरमा एउटै स्वतन्त्रको चनाव चिह्न लिने र एकै लहरका सातवटा चुनाव चिह्न लिन दिने गरी निर्वाचन आयोगलाई आग्रह गर्ने उनीहरूको भनाइ थियो ।

त्यसपछि भने मोर्चा नेताहरू मौन बसे । बैठकमा घोषित र लिखित रूपमा केही सहमति नभए पनि यसअघिकै तीनबुँदे समझदारीमा सत्तारूढ दलले समझदारी जनाएका थिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया