काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ । अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडाैँबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको हो । ‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौँ,’ राजपा नेता अनिल झाले भने ।

कांग्रेस नेता विमलेन्द्र निधिले राजपाले १४ असारको निर्वाचनमा पनि भाग लिनसक्ने बताए । ‘उहाँहरू राजपाकै हैसियतमा निर्वाचनमा भाग लिन चाहनुहुन्छ, तर दल दर्ता नभएकाले उहाँहरू पुरानै चिह्नमा निर्वाचनमा भाग लिन प्राविधिक हिसाबले सक्नुहुन्न,’ उनले भने, ‘अरू नै विकल्पबाट १४ असारको निर्वाचनमा भाग लिने सोचाइमा उहाँहरू हुनुहुन्छ ।’

कांग्रेस नेता निधि २ असोजमा हुने निर्वाचनमा भने राजपाले भाग लिने बताए । ‘स्थानीय तहको संख्या थप र संविधान संशोधन उहाँहरूको पुरानै मुद्दा हो,’ उनले भने, ‘अब दुई विषय टुंगिएपछि उहाँहरूले २ असोजको निर्वाचनमा भाग लिनुहुुन्छ ।’अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया