०२ असार, दिलिप साह राजविराज । प्रदेश नं. २ को चुनावको मिति सारिएपछि स्थानीय राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।  प्रदेशको पूर्वी जिल्ला सप्तरी र सिराहाका सत्तासीन राजनीतिक दलका नेताहरुले समेत चुनाव सारिनु ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

केही नेताहरुले वर्तमान स्थितिको आंकलन गर्दै चुनाव सारिएकाले अब समस्याको समाधान पनि हुने विश्वास व्यक्त गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्षी र चुनावको अन्तिम तयारी गरिसकेको संघीय समाजवादी फोरम नेपालका नेताहरुले चुनाव सार्नुलाई सरकारको निरिहता भनेका छन् । यसले सरकारको चुनाव गराउने मनस्थिति नदेखिएको उनीहरुको प्रतिकृया छ ।

‘निर्वाचनको अन्तिम क्षणमा आएर पुनः सार्नु बिल्कुलै ठीक होइन,’ नेकपा एमालेका सप्तरी अध्यक्ष गोविन्द न्यौपानेले भन्नुभयो– ‘राजपासँग सहमति गर्ने नाममा धमाधम निर्वाचन सार्नु न्यायोचित्त होइन ।’ एमाले जिल्ला अध्यक्ष न्यौपानेले निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको अवस्थामा एक्कासी आएर निर्वाचन सारिनु निर्वाचन गराउने मनसाय नभएको देखिएको बताउनुभयो । ‘यदि राजपालाई सहमतिमा ल्याउने इच्छा थियो भने यतिका दिनसम्म किन सहमतिमा ल्याइएन ?’ प्रश्न गर्दै न्यौपानेले भन्नुभयो–‘या त चुनाव घोषणा नै नगर्दा ठीक हुन्थ्यो नि ।’

एमालेबाट माओवादी केन्द्रमा गई पुनः एमालेमै फर्किएका सिरहाका नेता मुन्नी साहले निर्वाचन सारिनुले जनताको उत्साह मरेको प्रतिकृया दिनुभयो । एमालेबाट लहान नगरपालिकाका मेयर पदका उम्मेदबार समेत रहेका साह सरकारको यो निर्णय गलत भएको बताउँछन् । सिरहाकै संघीय समाजवादी फोरमका नेता सत्यनारायण यादवले चुनाव सारिएपछि कालो बादल मडारिन थालेको प्रतिक्रिया दिनुभयो । उहाले भन्नुभयो– ‘निश्चित समयमा चुनाव हुन नसक्नु दुःखद हो र यसले भएका उपलब्धीहरु खतरामा पर्ने सम्भावना प्रवल रहेको छ ।’ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसमेत रहेका उहाले सरकारले जनतालाई ओझेलमा राख्न खोजेको आरोप समेत लगाउनुभयो । फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादवले चुनाव सार्ने काम नराम्रो भएको बताउनुभयो ।

उहाले भन्नुभयो– ‘चुनाव भएको भए समग्र मुलुकका लागि राम्रो हुन सक्थ्यो । तर भएन, यो दुर्भाग्य हो ।’ नेकपा माओवादी केन्द्रका सिराहा नेता एवं पोलिटब्यूरो सदस्य हरिनारायण चौधरी पनि चुनाव सारिएपछि जनतामा निराशा छाएको बताउनुभयो । सरकारले पहिलोपटक वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरेको थियो । यो मितिमा ३, ४ र ६ नम्बर प्रदेशमा मात्रै निर्वाचन भयो । बाँकी प्रदेशका लागि जेठ ३१ गते निर्वाचन घोषणा गरिएपनि यो मितिमा पनि चुनाव हुन सकेन । तेस्रो पटक असार ९ गतेका लागि निर्वाचन घोषणा गरियो ।

यो मितिमा मुस्लिम समुदायको महान पर्व रमजान पर्ने भएकाले पुनः असार १४ गतेको मिति निर्धारण गरिएको थियो । तर असार १४ मा पनि प्रदेश नम्बर २ को निर्वाचन हुन नसक्ने भयो । नेकपा माओवादी केन्द्रका सांसाद अशोक मण्डलले भन्नुभयो–असार १४ को मिति असोज २ गतेलाई सारिएपछि यसले मुलुकको समस्या पनि समाधान हुने र सौहार्दपूर्ण वातावरणमा निर्वाचन हुन सक्ने आंकलन गर्छन्  सप्तरी २ नम्बर क्षेत्रबाट निर्वाचित सांसद मण्डलले पहिला पनि मुद्दा सम्बोधन गरेरै निर्वाचन गराउनुपर्नेमा नगरेका कारण यत्रो समस्या आएको बताउँदै भन्नुभयो– ‘अब समय आएको छ ।

मुद्दाको सम्बोधन गरेर सौहार्दपूर्ण वातावरणमा निर्वाचन गराइयो ।’ कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव वर्तमान अवस्थालाई आंकलन गर्दै निर्वाचन स्थगित गरिनु स्वाभाविक भएको बताउनुभयो । उहाले भन्नुभयो– ‘निर्वाचन सार्दैमा पहाड खस्ने होइन । बरु, राम्रो वातावरणमा निर्वाचन हुन्छ ।’ कांग्रेस सप्तरीका सभापति दिनेश यादवले राष्ट्रिय सहमतिको प्रयासका लागि निर्वाचन सारिएको बताउनुभयो । उहाले अब राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गर्दै यस्तो सहमतिमा हुने निर्वाचन फलदायी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया