०२ जेठ, दिलिप साह राजविराज । सप्तरीका सम्पूर्ण विद्यालय लगातार चार दिनदेखि बन्द रहदा बालबालिकाहरु भविष्य अन्धकारतिर धकेलिरहेको छ । यहि असारको अन्तिम सातामा हुने पहिलो त्रैमासिक परीक्षाका लागि अहिलेको समयमा नियमिति कक्षा सञ्चालन हुन अति नै आवश्यक रहेको अवस्थामा विद्यालयहरु बन्द छन ।

राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो माग पूरा गराउन गत ३० गतेदेखि गरेको मधेस, थरुहट तथा लिम्बुवान आमहडतालका कारण सप्तरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन बन्द रहेका छन ।  विद्यालयको पठनपाठन बन्द भएपछि घरमै खेलेर नै दिन बिताउने गरेको बालबालिकाले आउँदो त्रैमासिक परीक्षामा कसरी लेख्ने भन्ने चिन्ता रहेको दुखेसो पोख्दै अभिभावक प्रदिपकुमार झाले राजनीतिक दलले बालबालिकाको भविष्य बनाउनुको साटो बिगार्नेतिर उन्नमुख रहेको धारणा व्यक्त गर्नुभयो । चार दिनको बन्दले सिकेको कुरा पनि बिर्सिन सकिने हुँदा परीक्षा बिग्रिने उहाँको कथन थियो ।

कुनैपनि बहानामा विद्यालयलाई अवरोध नगर्ने पूर्व प्रतिवद्धता व्यक्त गरेका राजनीतिक दलहरुबाट नै विद्यालयको पठनपाठन अवरोध भइरहेको प्रति दुख व्यक्त गर्दै अर्का अभिभावक सुरेन्द्रप्रसाद यादवले भन्नुभयो, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरियो तर तिनै दलबाट अशान्ति भइरहेको छ । बन्दको पहिलो दिन नै सञ्चालनमा रहेका विद्यालयलाई धम्कीपूर्ण भाषामा बन्द गर्न राजपाका कार्यकर्ताहरु परिचालन गरिएको थियो ।

बन्द, हडताल तथा प्रदर्शनको समयमा विद्यालय आउदाजाँदा बालबालिका जोखिममा पर्न सकिने तथा कक्षा सञ्चालन गर्दा यसको असर पछि देखाउने हुँदा जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहेको शिक्षक महासंघ सप्तरीका अध्यक्ष फूलेश्वर मण्डलले जानकरी दिनुभयो । जोखिम मोलेर कक्षा सञ्चालन गर्न सकिन्छ तर यस्तो डर त्रास तथा भयको अवस्थामा बालबालिका र शिक्षकमा नकारात्मक असर पर्ने हुँदा पठनपाठन बन्द गरेको बताउनुभयो ।

अहिलेको आमहडतालमा विद्यालयको पठनपाठन बन्द गर्न कुनै निर्देशन नभएको भन्दै जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले शिक्षक आवद्ध संघ संगठनले बालबालिकामा नकारात्मक असर पर्न नदिन पठनपाठन बन्द गरेको हुन सकिने बताउनुभयो । जिल्लामा ४१० वटा विद्यालयहरुका करिब एक लाख भन्दा बढी बालबालिका अध्ययनरत छन ।

तपाईको प्रतिक्रिया