काठमाडौं, ४ असार । विराटनगर महानगरपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेसँगै विराटनगर एमालेमा विद्रोहको तयारी भएको छ। एमाले अध्यक्ष केपी ओली र एमाले मोरङ अध्यक्ष तथा विराटनगर महानगरका मेयरका उम्मेद्वार विनोद ढकालले टिक वितरणमा एकलौटी गरेको भन्दै महानगरका विभिन्न वडामा विद्रोह गरेका एमाले कार्यकर्ताहरुले महानगरपालिकामा नै विद्रोहको तयारी गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले फोरम लोकतान्त्रिकसँगको तालमेलले चुनावी परिणाममा गम्भीर असर पु¥याउने चेतावनी दिएको छ । विराटनगरमा फोरम लोकतान्त्रिकलाई उपमेयर दिने गरी तालमेल गरेपछि विद्रोह गर्ने चेतावनी आमकार्यकर्ताहरुले दिएका हुन् ।

विद्रोहको तयारीमा लागेका कार्यकर्ताहरुलाई केन्द्रबाट एमाले नेताहरु नेपाल र खनालले सहयोग गरेको बताइएको छ । मेयरमा मोरङ जिल्ला अध्यक्ष ढकाललाई उम्मेद्वार बनाइएपछि उपमेयरमा नेपाल र खनाल निकटलाई उम्मेद्वार बनाइएको थियो । तर फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने तयारी गरेपछि नेपाल र खनालको सहयोगमा विराटनगरमा एमाले कार्यकर्ताले विद्रोहको तयारी थालेको बताइएको छ ।

एमालेले विराटनगरमा ढकाललाई उम्मेद्वार बनाउने निर्णयमा समेत सबै एमाले कार्यकर्ताहरु सन्तुष्ट बन्न सकेका थिएनन् । सबै अवसर जति ढकालले नै लिएको भन्दै धेरै कार्यकर्ताहरु रुष्ट बनेका थिए । जिल्ला अध्यक्ष, संविधानसभा सदस्य भइसकेको मान्छेले महानगरको मेयरको उम्मेद्वार बन्दा पदलोलुपताको आरोप लाग्ने भन्दै उनलाई उम्मेद्वार नबनाउन आम कार्यकर्ताको आग्रह थियो । तर, केपी ओलीले मुढे बल लगाएर ढकाललाई मेयरको उम्मेद्वार बनाएका थिए ।

उपमेयर एमालेले फोरम लोकतान्त्रिकलाई दिएको विषयमा मोरङमा अधिकांश महिला कार्यकर्ताहरुले सामहिक विद्रोहको तयारी गरेका छन् । तालमेलले एमाले निकटको महिला संघ आवद्ध आम महिलाहरुमाथि अन्याय गरेको भन्दै विद्रोहमा उत्रिएका छन् ।देशान्तर साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया