४ असार, इनरुवा/स्थानीय तह अन्र्तगत दोस्रो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता सुनसरीमा शान्तिपूर्ण तवरमा भएको छ ।निर्धारित तालिका अनुरुप विहान ८ बजे देखि खुला गरिएको मनोनयन पत्र दर्ता गर्न उत्साहजनक सहभागिता देखिएको थियो ।चार बजेसम्म दर्ता समय तोकिएपनि दर्ताको क्रममा समय लागेपछि तोकिएको अवधीभित्रै दर्ताकालागि पुगेका दलहरुले पालो पर्खेर आआफ्नो मनोनयन गर्दा गराएका छन् । मनोनयनको सम्पूर्ण कार्य पुरा हुन ७ , ८ बजेसम्म समय लाग्ने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार सुनसरीका १२ वटै स्थानीय तहमा विना अवरोध शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको कार्यालयले जनाएको छ ।सुनसरीका धरान, इटहरी गरी दुई उपमहानगरपालिका सहित इनरुवा, दुहवी भलुवा, रामधुनी भासी र बराह नगरपालिकाका साथै भोक्राहा,गढी,बर्जु,हरिनगरा,देवानगंज र कोशी गाउँपालिकामा शान्तिपूर्ण मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।


सुनसरीमा प्रमुख राजनैतिक दल सहित उपेन्द्र यादव र बिजय कुमार गच्छेदार नेतृत्वको पार्टीले मनोनयन गर्दा गराएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या समेत बाक्लो देखिएको छ ।


मनोनयन दर्ताको क्रममा हुने सम्ने अवरोधलाई मध्यनजर गर्दै सुनसरीका सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।यद्यपी मनोनयनका क्रममा सुनसरीका कुनैपनि स्थानमा राजपाको प्रभाव देखिएन् । आमहड्ताल सँगै मनोनयनकालागि अवरोध गर्ने राजपाको कार्यतालिका रहेपनि सुनसरीका कुनैपनि स्थानमा राजपा नेता तथा कार्यकर्ता देखा नपरेको सुनसरी प्रहरीले जनाएको छ ।यसैवीच तीन दिन अघि चुनाव विरोधी गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजपाका ८ जना नेता तथा कार्यकर्तालाई सार्वजनिक मुद्धा लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया