विराटनगर । दोस्रो चरणको स्थानीयचुनावअन्तर्गत विराटनगरका विभिन्न वडामा मुख्यदल कांग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा भएका छन् ।वडा नम्बर १० मा पार्टीका सबैभन्दा धेरै बागी उम्मेदवार खडा भएका छन् ।

 

एमालेले सर्वसम्मत रुपमा वडा अध्यक्षमा सिफारिस गरेर पठाएका माधवराज वाग्लेको ठाउँमा अर्जुन गिरीलाई उठाइएपछि वाग्लेले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले भने, ‘सर्वसम्म रुपमा सिफारिस गर्दा पनि मलाई हटाइएपछि जित्नकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।’

त्यही वडामा कांग्रेसका राजेश मास्केले पनि वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।  संयुक्त टोल नगर संगठनमा काम गरेर निकै लोकप्रिय बनेका मास्केलाई कांग्रेसले टिकट भने दिएन । उनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

वडा नम्बर १० मा कांग्रेसका अमलेश कर्णको पनि वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । वडा नम्बर १२ को वडाअध्यक्षमा कांग्रेसका भीमबहादुर केसीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । वडा नम्बर ७ मा कांग्रेसका कल्याण लामिछानेले सदस्य पदमा र वडा नम्बर ८ मा एमालेका खगेन्द्र पोखरेलले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पर्टीले टिकट नदिएका उम्मेदवारहरु पनि निकै तामझामका साथ मनोनयनदर्ता गर्न पुगेका थिए । वडा नम्बर ७ का लामिछाने निकै ठूलो समूह लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले भने, ‘पार्टीले पत्याएन तर जित्ने अपेक्षासहित स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छु ।’ एमालेका कृष्ण मार्सेली र कांग्रेसका कृष्ण काफ्लेले पनि स्वतन्त्र मनोनयन दर्ता गराउनु भएको छ ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया