काठमाडौं । उपत्यकामा घरेलु श्रमिक अभाव भएको एक अध्ययन प्रतिवेदन पाइएको छ । स्वतन्त्र अभियान तथा घरेलु श्रमिक मञ्चले संयुक्त रूपमा उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा यस्तो पाइएको हो । सो अध्ययन प्रतिवेदनअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, सूर्यविनायक र भक्तपुर नगरपालिका क्षेत्रका दुईजना रोजगारदातासँग घरेलु श्रमिकको आवश्यकता भए वा नभएको अध्ययन गरेको थियो ।

 सो अध्ययनमा सहभागीमध्ये एक तिहाईभन्दा बढीले घरेलु कामदार खोजेर पनि नपाएको गुनासो गरेको, ६३ प्रतिशतले आफ्नो घरमा घरेलु श्रमिक राखेको पाइएको हो । प्रतिवेदनअनुसार रोजगारदातामध्ये १२ प्रतिशतले मात्रै अनुभवी र तालिम प्राप्तलाई घरेलु श्रमिकका रूपमा लिने गरेको पाइयो भने ८१ प्रतिशतले सामान्य घरको काम गर्न जानेको व्यक्तिलाई लिने गरेका छन् ।

घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये ९९ प्रतिशतले महिला र एक प्रतिशतले मात्रै बालक वा बालिका राखेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये १६ प्रतिशतले मासिक १० हजार रुपियाँभन्दा बढी तलब दिने गरेको पाइएको छ भने ३६ प्रतिशतले मासिक पाँच हजार रुपियाँसम्म र ३७ प्रतिशतले सात हजार रुपियाँ दिने गरेको पाइएको छ ।

अधिकांशले आंशिक समय काम गराउने भएकाले मासिक दुईदेखि पाँच हजार रुपियाँसम्म तलब दिने गरेको सोही अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा बसोबासका आधारमा घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये ६८ प्रतिशत आफ्नै घर भएका र ३२ प्रतिशत भाडामा बस्ने रहेको पाइएको छ भने घरेलु श्रमिक राख्नेमा ७० प्रतिशत एकल परिवार र ३० प्रतिशत संयुक्त परिवार रहेको पनि उल्लेख गरिएको छ ।

अध्ययनका क्रममा समेटिएका रोजगारदातामध्ये ८९ प्रतिशतले १८ देखि ४० वर्षसम्मका व्यक्तिलाई रोजगारका रूपमा लिएको पाइएको छ । बाँकीले १४ देखि १८ वर्षसम्मका र ४० देखिमाथि उमेरका व्यक्तिलाई श्रमिकका रूपमा राखेको पाइएको जनाइएको छ ।

अध्ययनमा रोजगारदातामध्ये ६७ प्रतिशतले विवाहितलाई घरेलु श्रमिकका रूपमा राख्न चाहेका थिए भने १८ प्रतिशतले अविवाहितलाई राख्न चाहेको उल्लेख गरिएको छ ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया