काठमाण्डाै । गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ ।

 रिमोटको यो अवस्था देखेर उनी भक्कानो छाडेर रून्छन्। गाई फार्मको शनिबारको भयानक दुर्घटनापछि बाबुरामका आँखा पनि सुकिसकेका छन् । हरेक गाईसँग भावनात्मक रूपले जोडिएका बाबुरामसँग रिमोटको सम्बन्ध निकै गहिरो छ । त्यसैले जीवन र मृत्युको दोसाँधमा रहेको रिमोटलाई उनले साथ छाडेका छैनन्।

रिमोट ओम कृषि फार्ममा रहेका मध्येकै चलाख गाई हो । फार्ममा ब्याउने गाई, आइपरेको समस्या, गाई–बाच्छाबाच्छीलाई चोटपटक लाग्दा, तिर्खा र भोक लाग्दा सबैभन्दा पहिलो सूचना उही रिमोटले मालिक बाबुरामलाई कराएर जानकारी गराउँथ्यो ।

रिमोटकै सूचनाका आधारमा बाबुराम र कामदार गाई गोठमा पुगेर समस्या समाधान गर्थ्ये । ‘तर आज उही रिमोट मृत्युसँग लड्दै छिन्, मेरो आमा आईसीयुमा भर्ना हुँदाको भन्दा पनि ठूलो हृदयविदारक घटना भयो मेरा लागि’, बाबुरामले आइतबार भने, ‘समस्या पर्दा सबैलाई जोगाउन सूचना दिएर हामीलाई सधैं जागा बनाइरहने रिमोट आफैं जीवन मृत्युको दोसाँधमा परिन् । सकेसम्मको उपचार गर्दै छु । चिकित्सकले बाँच्दैन भनेका छन् । तर, मैले अझै आश मारेको छैन ।’

ओम कृषि फार्मका मालिक बाबुरामले सानैदेखि आफ्नै हातले रिमोटलाई स्याहार गरेका हुन्। गोठमा हुने सबै प्रकारका सूचना आफूलाई समयमै उपलब्ध गराएका कारण बाबुरामले उक्त गाईको नाम रिमोट राखेका हुन्।

आगलागीमा परी सिकिस्त बनेका गाईको उपचारका लागि एनिमल नेपाल, स्नेहा केयर, जिल्ला पशु सेवा, पशु चिकित्सालय त्रिपुरेश्वरका दुई दर्जनभन्दा बढी पशु चिकित्सकले रिमोटसहित अन्य गाईको सघन उपचार गरिरहेका छन्।

बाबुरामलाई रिमोटको पीडा खप्न गाह्रो भइरहेका बेला शनिबारको भीषण आगलागीमा परी गर्भवती अवस्थामा ज्यान गुमाएकी ठूली, लुती, लकी, उमा, लक्ष्मीलगायत सबै गाईको मायाले त्यतिकै पीडा दिएको छ । शनिबार बिहानसम्म हराभरा र गाईको आवाजले गुञ्जायमान हुने फार्म सुनसानमय छ।

‘गहिरो माया लागेर सबै गाईको स्वभावअनुसार नामकरण गरेको थिएँ । नामले बोलाउँदा आज्ञाकारी छोरीजस्तै बुर्लुक्कै उफ्रेर उनीहरू आउँथे । आफ्नै हातले खाना पानी खुवाउँथे’, उनी भन्छन्, ‘आज यही गोठ मसानघाटजस्तो बन्यो । बरु यति मूल्यबराबरको रुपैयाँ डढेर खरानी भए मलाई कुनै पीडा हुँदैनथ्यो । छोराछोरीजस्तै माया गरेर हुर्काएको हुँदा विछोडको पीडा सहन निकै गाह्रो हुँदो रहेछ ।’

उनका अनुसार गाईलाई खाना वा पानी खुवाउन निर्धारित समयभन्दा पाँच मिनेट ढिलो हुँदा ‘ठूली’ गाईले चिच्याएर सबै गाईलाई सार कराउन लगाउँथिन्  ‘लुती’ निक्कै दुब्ली पातली थिइन् । यस्तै, लुतिकी छोरी खरायोजस्तै बुर्लक्क बुर्लुक्क उफ्रिन्थिन् । त्यही भएर उनको नाम खरायो थियो । अर्को गाईको नाम लक्की थियो । गत दसैंताका जन्मिएकी लकीले धेरै दूध खान पाएकीले उनको नाम लक्की राखिएको थियो । दसैंको समयमा बजारमा दूध बिक्री नहुँदा भए भरका सबै दूध उही लक्कीले खान पाउने सौभाग्य पाएकी थिइन्।

बाबुरामको गाईसँग निकै गहिरो सम्बन्ध थियो । आमा अस्पतालको कोमा मा रहेका बेला पनि बाबुराम गाईगोठ छाडेर आमालाई हेर्न गएनन्। हजुरआमा बित्दासमेत घर गएनन्। आफ्नै सालीको विवाहमा पनि सहभागी भएनन्। यसैबाट थाहा हुन्छ, बाबुरामले गाईलाई कति माया गर्थे भनेर।

बिहानै उठेर गाईकी मुखिया ‘ठूली’ को पूजाआजा गर्थे। ‘गाई र मेरो सम्बन्ध नङमासुको जस्तै बनेको थियो,’ बाबुरामले भने, ‘गाईकै मायाले गर्दा आमा कोमामा हुँदा र हजुरआमा बित्दा पनि जान सकिनँ। गाई छोराछोरीजस्तै भइसकेका थिए। उनीहरूकै माया लागेर पछिल्लो ५—६ वर्षदेखि दसैंको टीका, तिहार, मावली र विवाह व्रतबन्ध केही मानिनँ।’ भूकम्प र नाकाबन्दीजस्तो कष्टपूर्ण समयमा पनि बाबुराम दम्पत्ति मिलेर ३० वटा गाईलाई स्याहार गरे।

बिहान पौने तीन बजे नै बाबुराम दम्पती ओछ्यान छाडेर १० जना कामदारको सहयोगमा गोबर सोहोर्ने, दूध दुहने र दानापानी खुवाउने गर्थे। गाईगोठ अरुको भरमा छाड्दा समस्या आउला भनेर बाबुराम दम्पती गाईकै गोठमा पाताको सानो कोठाभित्र बस्दै आएका थिए। अर्थशास्त्रका उपप्राध्यापकसमेत रहेका बाबुराम साताको दुई दिन मंगलबार र बुधबार मात्रै कलेजमा पढाउन जान्थे। बाँकी सबै दिन गाई गोठमा बिताउँथे।

आगलागी हुँदा बाबुरामले तीन वटा गाईको दाम्लो फुकाउन सके। सबैतिरबाट एकैपटक आगोको लप्काले छुँदा दाम्लोमै रहेका एक सय २२ मध्ये ८१ वटा गाईको जलेर ज्यान गएको हो । बाँचेका ४१ मध्ये डढेर घाइते छन् । घाइते हुनेमा एक सातादेखि तीन महिनासम्मका बाच्छाबाच्छी छन् । फार्ममा ७५ वटा दुधालु गाई, २२ वटा कोरली गाई र बाँकी बाच्छा बाच्छी थिए।

५० वटा गाई बाबुरामको फार्ममा जन्मिएका हुन्। बाँकी डेढ लाखदेखि अढाई लाखसम्ममा खरिद गरी ल्याइएका हुन्। आगलागीबाट चार करोडभन्दा बढीको क्षति भएको छ ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया