१३ असार, इनरुवा। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन कार्यालय सुनसरीले आग्रह गरेको छ । स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बुधबार हुने मतदानका सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका १२ स्थानिय तहका ४८५ मतदान केन्द्रको व्यवस्थासहित आवश्यक सबै सामग्री र्पुयाइएको छ ।

त्यस्तै मतदानका लागि आवश्यक कर्मचारी परिचालन गरी, बुथ निर्माण, परिचयपत्र वितरणलगायतको काम सकिएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णले आवश्यक सबै काम सकिएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह गरे । वर्षात्को समयमा हुनलागेको निर्वाचनलाई असर पर्न सक्ने भन्दै मतदान स्थलमा पनि त्रिपालको व्यवस्था गरिएको छ । १२ स्थानीय तह रहेको सुनसरीमा २ लाख ३१ हजार ७ सय मतदाता छन् । कूल ६ सय ४४ प्रतिनिधि चयन हुने सुनसरीमा ३ हजार ५ सय २४ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया