१४ असार, अमर काफ्ले इनरुवा। सुनसरीका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपले मतदान सुरु भएको छ । विहानीपख धरान सहितका केही स्थानमा पानी परेपनि मतदान गर्न मतदाताहरु बेलैदेखि लामबद्ध भएका थिए ।
सुनसरीका १ सय ६६ वटै मतदान स्थलका ४ सय ८५ मतदान केन्द्रमा निर्वाध रुपमा मतदान प्रकृया थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । मतदानमा सहभागि हुन ७ बज्नु अगावै मतदाताहरु लाइनमा बसिसकेका थिए । मतदानलाई मध्यनजर गर्दै सुनसरीको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीलाई सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्लाका रुपमा राखिएको छ ।
विशेषगरी धरान, इटहरी सहितका क्षेत्रमा विप्लव समूह र सदरमुकाम इनरुवा आसपासका केही वडा र दक्षिणी भेगमा राजपा, सिके राउत र भूमिगत समूह तथा खुला सीमालाई आधार मानेर अति संवेदनशील मानिएको छ । सुनसरीमा ४ लाख २१ हजार १ सय ५९ मतदाता रहेका छन् । जसले विभिन्न पदका ६ सय ४४ जना उम्मेद्वारको भाग्य टुङ्गो लगाउने छन् । सुनसरीमा ३ हजार ५ सय २४ उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया