१४ असार, अमर काफ्ले इनरुवा /अपरान्हको ४ बजे सम्ममा सुनसरीमा ६३ प्रतिशत मत खसेको छ । मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार जिल्लामा ६३ प्रतिशत बढी मत खसिसकेको बताउनुभयो । जिल्लाका धेरैजसो मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको समेत कोइरालाले जानकारी दिनुभयो ।

मतदाताको उत्साह र मतदान गर्ने समय बाँकी नै रहेकाले ७० प्रतिशतको हाराहारीमा मत खस्न सक्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीको अनुमान छ । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा सुनसरीमा ६६.२५ प्रतिशत मत खसेको थियो । एमाले पार्टी सचिव भीम आचार्यले इनरुवा ६ मा रहेको जनता उच्च मावि मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।

दिउँसो मतदानकालागि पुग्नुभएका आचार्यले मत खसालेपछि संक्षिप्त प्रतिकृया दिँदै ढिलैभएपनि चुनाव शान्तिपूर्ण भएको भन्दै निर्वाचनले मुलुकलाई नयाँ मार्ग तर्फ लैजाने बताउनुभयो । संचारकर्मीहरुसँगको कुराकानीमा नेता आचार्यले चुनावमा भाग नलिएर केही मधेश केन्द्रित दलले ठुलो भूल गरेको धारणा राख्नु भयो । फोरम लोकतान्त्रिकका अध्यक्ष तथा वर्तमान सरकारका संघीय मामिला तथा स्थानीय
विकास मन्त्री बिजयकुमार गच्छदारले समेत सुनसरीमा आफ्नो मत खसाल्नु भएको छ । गच्छदारले दुहवी नगरपालिका २ मा रहेको नविन शिक्षा निकेतन मतदान केन्द्रमा मत खसाल्नु भएको हो ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताल इनरुवामा रहेका रामजी राजाजी महतोदासबाट मतदान खसाल्नु भएको छ ।
राजपा सहितका चुनाव विरोधी समूहलाई मध्यनजर गर्दै अति संवेदनशील मानिएको सुनसरीको दक्षिणीभेगका मतदान केन्द्रहरुमा समेत मतदाताको उपस्थिती बाक्लो देखिएको छ । ती क्षेत्रहरुमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया