१५ असार, इटहरी। सुनसरी जिल्लाको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि पाँच गाउँपालिका र एक नगरपालिकामा मत गणना कार्य प्रारम्भ गरिएको छ । बराह नगरपालिकामा भरखरैबाट मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृत इन्दिरेश दाहालले जानकारी दिनुभएको छ ।

त्यसैगरी इनरुवा, रामधुनी र दुहवी नगरपालिकामा पनि मतगणना गर्ने कार्यको तयारी पुरा भएकोछ । त्यस्तै इटहरी उपमहानगरको पनि मतगणना सुरु भएका छ ।

निर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार बर्जु गाउँपालिकाका निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार १८ हजार ४ सय ६४ मतदाता मध्ये १५ हजार ७ सय ९७ मत खसेको छ । पछिल्लो नतिजा अनुसार बर्जु गाउँपालिकाको वडा नम्वर १ को ९ सय मत गणना भई सक्दा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ३३४ मत उपप्रमुख सुमित्रादेवी गुरुङ्गले ३०७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले २५१ मत उपाध्यक्ष सोमकुमारी गुरुङ्ग रायले पनि २४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले १३४ मत उपाध्यक्षकी सङ्गीताकुमारी रायले १३४ मत ल्याउनु भएको छ ।

त्यसैगरी भोक्राहा गाउँपालिकामा पनि मतगणना शुरु गरिएको नतिजा अनुसार सङ्घीय फोरम नेपालका तर्फवाट अध्यक्ष रहनु भएको महेन्द्र यादवले १०१ मत तथा एमालेका अध्यक्षले ८० मत र नेपाली काङ्ग्रेसका अध्यक्ष अजमल आजादले ५७ मत ल्याउनु भएको निर्वाचन अधिकृत पिताम्वर गौतमले जानकारी दिनुभयो ।

मतगणना भई रहेको केन्द्रहरुमा देखिए अनुसार धेरै  मत बदर हुन सक्ने सम्भावना रहेको छ । मतदाताहरुले चुनाव चिन्हमा ल्याप्चे लगाएका छन भने स्वस्तिक छाप लगाए पनि रुखको चिन्ह देखि लहरै सूर्यको अन्तिम चिन्हसम्म पनि मतदान गरेको फेला परेको पाईएको छ । मतगणनाको पछिल्लो अवस्था हेर्दा मत परिणाम घोषणा हुनका लागि कम्तिमा असार २२ भन्दा यता परिणाम आउने सम्भावना कम रहेको पाईएको छ । यो निर्वाचनमा सवैभन्दा बढि देवानगञ्ज गाउँपालिकामा ८० प्रतिसत मत खसेको छ ।

तपाईको प्रतिक्रिया