१७ असार, दिलिप साह राजविराज । सप्तरीको कृष्णासवरण गाउँपालिका वडा नम्वर–२ स्थित सितापुर चाँदनी चौकका दश घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । भिषण बर्षाका कारण पैनी खोलामा आएको बाढीले वहाव परिवर्तन गरेपछि स्थानीय दश परिवारको पन्ध्र घर बाढीको उच्च जोखिममा परेका हुन् । बाढी बस्तीमा पसेर कटान गर्न थालेपछी स्थानीयहरु घर छोडेर सुरक्षित स्थान तर्फ भागेका छन् ।

रातको बाह्र बजे बस्तीमा बाढी पसेर घरमुनी कटान गर्न शुरु भयो एकएक रुख ढल्न थालेपछि घर बगाउने त्रासले रातरात भाग्नु परेको पीडीत भक्त बहादुर तामाङले बताए । बाढीले बाख्रा र सुङ्गुरको खोर बगाएर लगेको उनले जानकारी दिए । बाढीले माछा पोखरी र मकैबालीमा गरी लाखौ को क्षती पुर्याएको बाढी पीडीतहरुको बताएका छन् । बाढीले कटान गरी वहाव परिवर्तन गरी पोखरीमा पसेपछि सितापुरकै विशाल जर्मन ताल फुटेर लखौको क्षती भएको स्थानीय ईश्बरलाल चौधरीले बताएका छन् । बाढीको जोखिममा रहेको क्षेत्रको समयमा रोकथाम नभए ठूलो जनधनको क्षती हुने सम्भावना रहेको साबिक सितापुर गाविसका पूर्व अध्यक्ष बसन्त कुमार चौधरीले बताए । उनले थप क्षती हुनुबाट जोगाउन सम्वन्धित निकायको ध्यानाकार्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया