shot0012.jpgtttt
अमर काफ्ले , मंसिर १० इनरुवा / बुधवार विहान सुनसरी हरिपुर ७ स्थित पूर्व टोलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा आएर ४ नेपाली नागरिकमाथि गोली हानेको घटनाको थप रहस्य खुलेको छ ।घटनामा प्रत्यक्ष संलग्न रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीलेनै नेपाली भूमिमा गोली हान्नु परेको भनि दिएको अभिव्यक्तिको भिडियो टेप फेला परेपछि भारतीय पक्ष्यको झुटको खुलाषा भएको छ ।घटनामा संलग्न रहेका एसएसबीको ४५ औं बटालिनका कन्सटेबल विरेन्द्रकुमार बनकुटीले हेड कन्सटेबल राम सेवकलाई भारतीय नागरिकहरुले कुटपिट गरी नेपाली भूमि तर्फ लगेपछि आफुले उनको बचाउका लागि गोली प्रहार गरेको बताएका छन् ।
सहकर्मीलाई बचाउन नेपाली भूमिमा जाँदा आफुमाथि समेत लाठी प्रहार भएपछि नेपाल भूमिमै फायर खोलेको उनले बोलेका छन् ।
इन्धन र मल खाद तस्करीको विवाद सँगै बढेको तनावका वीच भारतीय भूमिमा केही तस्करहरुसँग एसएसबीका जवानवीच कुटाकुट भएको थियो ।सो क्रममा नेपाल तर्फ भागेका झगडा गर्ने समूहलाई लखेट्दै दशगजा मिचेर नेपाली भूमिमा रहेको वस्तीमा प्रवेश गरेका भारतीय सुरक्षा फौजले नेपालीमाथि गोली प्रहार गरेका थिए ।एसएसबीका कन्सटेबलले स्वयं आफुहरु नेपाली क्षेत्रमा प्रवेश गरेको र फायर खोलेको भनि बताइरहँदा भारतीय राजदुतावासले घटनाको खण्डन गरी एसएसबीले कुनै गोली नचलाएको भनि जारी गरेको विज्ञप्ती सरासर झुटो देखिएको छ ।प्रत्यक्षदर्शीका साथै सुनसरी प्रहरी र सुनसरी प्रशासनले घटनामा एसएसबीकै संलग्नता रहेको दावी गर्दै आएको छ ।
नेपाली भूमिमै नेपालीमाथि एसएसबीले गोली प्रहार गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
घटना भएको विहानै नेपाली सुरक्षा निकायलाई आफुहरुबाट गल्ति भएको स्विकार गरेको एसएसबीले पछि भने आफुहरुले नेपाली भूमिमा गएर गोली नचलाएको बताएको थियो ।गोली लागेका ४ जना मध्ये २ जना सामान्य उपचार पछि घर फर्किसकेका छन् । गम्भिर घाइते अशोक यादवको अझैपनि गोली निकाल्न नसकिएको सुनसरी प्रहरीले जनाएको छ । नरेश यादवको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । यसैवीच घटनामा प्रयोग भएको गोलीको खोका समेत फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया