काठमाडौँ, १० मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बिमा कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ । सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सञ्चारमन्त्री राईले श्रमजीवी पत्रकारको कामको सिलसिलामा हुने कुनै पनि दुर्घटनामा केही सहयोग पुग्ने विश्वासका साथ पत्रकार दुर्घटना कार्यक्रम ल्याईएको बताउनुभयो ।उहाँले भन्नुभयो, “पत्रकार दुर्घटना बिमा निर्देशिका २०७० बमोजिम सूचना विभागबाट जारी गरिएको प्रेस पास र नेपाल पत्रकार महासङ्बाट सदस्यताप्राप्त गरेका ५५४ जना पत्रकारको पहिलो चरणको पत्रकार बिमा आजदेखि लागू भएको घोषणा गर्दछु ।”एनएलजी इन्स्योरेन्स कम्पनीले कम बिमा शुल्क रु ३३९ मा पत्रकार दुर्घटना बिमा गरेको छ जसमा पत्रकार दुर्घटना बीमा एक वर्षको लागि रु पाँच लाखसम्म र दुर्घटनापछि उपचारका लागि रु दुई लाखसम्मको व्यवस्था गरेको छ ।मन्त्री राईले दुर्घटना बिमा शुल्कमा सञ्चार माध्यम वा सञ्चारकर्मीले २५ प्रतिशत र सरकारले ७५ प्रतिशत बेहोर्ने जानकारी दिनुभयो । उहाँले सूचना विभाग, नेपाल पत्रकार महासङ्घ, सञ्चार प्रतिष्ठान तथा श्रमजिवी पत्रकारको समन्वयमा पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुरुवात भएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया