अमर काफ्ले इनरुवा असार २५/ इनरुवा नगरपालिकाका नव निर्वाचित मेयर राजन मेहताले नगर विकास र जनताको सेवा आफ्नो प्रमुख दायित्व रहने बताउनु भएको छ । कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख मेहताले समग्र विकास लक्षित सेवा प्रवाहमा आफु र आफ्नो टिम अहोरात्र खटिने उद्घोष गर्नुभयो ।


पत्रकार सम्मेलनमा मेहताले आफ्नो चुनावी एजेण्डा सहित नगर र नगरवासीको हीतमूखी योजना प्राथमिकताका आधारमा संचालनमा ल्याउने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । आफ्नो कार्यकालमा खुट्टा तान्ने प्रवृतिको अन्त्य हुने दावी गर्नुभएका नगर प्रमुख मेहताले कर्मचारी सहित सबै तह र तप्काको साथ र सहयोग जुटे नगरलाई विकासको क्रममा फड्को मार्न धेरै समय नलाग्ने धारणा राख्नुभयो । मेहताले बोलेर हैन् गरेर देखाउन आफु तयार रहेको बताउँदै जनताको अभिमतको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । नगर प्रमुख मेहताका स्वघोषित प्रेस सल्लाहकार सुविद गुरागाईले पत्रकार सम्मेलनमा मेहताका आगामी योजना बारे जानकारी गराउनु भएको थियो ।


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार श्रावण महिनाको १ गतेबाट नगरमा द्रुतगतिमा बिकास निर्माणका कामहरु संचालनमा ल्याइने छन् । एक महिनाको अवधीमा नगरभित्र प्राथमिकताका आधारमा विविध ५९ शिर्षकमा कार्यसम्पादन गरिने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख जमुना पोखरेलले जनताका सेवामा समर्पित भएर लाग्ने बताउँदै आफ्नो कार्यकालमा सम्पादित हुने कार्यहरुप्रति नगरवासीले गुनासो गर्ने मौका नदिने बताउनु भयो । जसकालागि सबैको साथ र सहयोग प्राप्त हुनेमा पोखरेल आशावादी देखिनु भएको थियो ।

तपाईको प्रतिक्रिया