काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिनुभएको छ ।

 

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत विकास निर्माणमा समेत विभिन्न समस्या देखिएकाले प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको हो ।

अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत् प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याइएको प्राधिकरणले जनाएको छ । अहिलेको विद्युत् आपूर्ति मागलाई तत्कालको ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको कुनै विकल्प नरहेको प्राधिकरणको निष्कर्ष छ ।

अहिले काठमाडौंको विद्युत् प्रसारण तारको क्षमता ३५० मेगावाट मात्र छ । अबको पाँच वर्षभित्रमा काठमाडौँको विद्युत्को आपूर्तिको माग दुईहजारदेखि दुईहजार पाँच मेगावाटसम्म हुन सक्ने प्राधिकरणको अनुमान छ ।

एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा विद्युत् प्रसारणका तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड) गर्न लागिएको हो । तारहरूलाई भूमिगत गर्न एडीबीको परामर्शदाताले अध्ययन समेत गरिसकेको छ ।

यस योजनाका लागि एडीबीसँग प्रारम्भिक सम्झौता भइसकेको जानकारी प्रवक्ता अधिकारीले दिनुभयो । यस योजनाका लागि एडीबीले सुरुमा १२ अर्ब २४ करोड रुपियाँ (१२० मिलियन अमेरिकी डलर) उपलब्ध गराउनेछ ।अाजकाे गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया