काठमाडौं  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेस निकट सिमित व्यवसायीहरूको महत्वकांक्षाका कारण विमल ढकाल समूह नराम्रोसँग पराजय भोग्न बाध्य भयो । कांग्रेस निकट व्यवसायीहरूको भित्रि अन्तरकलहमा खेलेर बामपन्थीहरूले नेतृत्व हत्याएका छन् ।

एमाले निकट रोहन गुरुङ समूहले अधिकांश पदसहित जित हासिल गरेको छ । संघका वरिष्ठ व्यवसायी एवम् नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे र उनको समूहले विमल ढकाललाई हराउन ठूलो भूमिका खेलेको भन्दै आलोचना हुन थालेको छ । प्रचार प्रसार समितिका संयोजक बनाइएका घिमिरे निर्वाचन अवधिभर विदेशका मुलुकहरू घुम्नमै मस्त रहेको एक व्यवसायी बताउँछन् ।

विदेश घुम्न जानु अगाडि सिनामंगलस्थित एयरपोर्ट होटेलमा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरूसँग मिलेर घिमिरे समूहले ढकाल समूहलाई पराजित गर्ने योजना बनाएको थियो । स्रोत भन्छ–‘विमल ढकाल समूहलाई पराजित गराउन जे पनि गर्नुपर्छ भनेर किरणकिशोर घिमिरे समूहले बामपन्थीहरूसँग आफै प्रस्ताव राखेका हुन् ।’

एयरपोर्ट होटेलमा रातभरि मदिरा पिएर कांग्रेसको असन्तुष्ट पक्ष र एमाले तथा माओवादी केन्द्रका व्यवसायीहरूले ढकाल समूहलाई हराउने योजना बनाएको थियो । यो कुरा बुझेको ढकाल समूहले पराजयको क्षति रोक्नका लागि प्रयास गरेको थियो । तर, पराजय रोक्न सकेन । जसका कारण यसपटक एमालेको पोल्टामा वैदेशिक रोजगार व्यवसायी संघ पर्न पुगेको छ । यसको मूल्य कांग्रेस निकट व्यवसायीहरूले लामै समय चुकाउनु पर्ने हुन्छ ।

कांग्रेसभित्रैबाट यस्तो प्रस्ताव आएपछि एमाले निकट रोहन गुरुङ समूहले केही रकम खर्च गरेर कांग्रेस निकट झण्डै एक सय ५० व्यवसायीहरूको मत आफ्नो पक्षमा बनाएको थियो । कांग्रेसभित्रको अन्तरघात गर्नेहरूको चर्तिकलाको म्यानपावर व्यवसायीहरूले आजकाल समीक्षा गर्न थालेका छन् ।

संघको अध्यक्षमा ढकाल समूह दोहोरिएकोमा घिमिरे समूह रुष्ट थियो । हुन पनि ढकाल एक पटक अध्यक्ष भइसकेको अवस्थामा किरणकिशोर घिमिरेलाई अध्यक्ष छाडेर सहयोग गरेको भए पनि हुने थियो । तर, गुटको राजनीतिले गर्दा ढकाल समूहले घिमिरे समूहलाई अध्यक्ष पद छाडेन ।

ढकाल समूहसँग रिसाएको घिमिरे समूहको रिस प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका प्रज्ञान न्यौपानेलाई पर्न गयो । वैदेशिक रोजगार व्यवसायमा युवा र डाइनामिक व्यवसायीको परिचय बनाएका प्रज्ञान न्यौपानेलाई हराउन पनि ठूलै खेल भएको थियो ।

न्यौपानेसँग स्वयं एमाले माओवादी केन्द्रका व्यवसायीहरू पनि डराएका थिए । उनीहरूले अरु सबै पद जिते पनि प्रज्ञान न्यौपानेका कारण प्रथम उपाध्यक्ष हार्छौँ भनेर पहिला नै स्वीकार गरिसकेका थिए । तर, अन्तर्घातका कारण परिणाम न्यौपानेको पक्षमा आएन । वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा कांग्रेसीहरूले नै अन्तरघात गरेको उजुरी कांग्रेसका शीर्ष नेताहरूसम्म पुगेको छ ।

तर, ती अन्तरघातीहरूलाई कारबाही गर्नेतिर खासै ध्यान नदिएको एक व्यवसायीले गुनासो गरे । कांग्रेसले द्वितीय उपाध्यक्ष र कोषाध्यक्षमा मात्रै जितेको छ । अन्य सबै पदमा पनि वामपन्थी प्यानलका उम्मेदवारहरुले जितेका छन् । अध्यक्ष गुरुङ प्रजातान्त्रिक समूहका ढकाललाई ९३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गुरुङले ४३४ मतका साथ जित दर्ता गराउँदा ढकालले ३४१ मत ल्याए । गुरुङको व्यावसायिक (वामपन्थी) प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना विजयी भएका छन् । तृतीय उपाध्यक्षमा शुक्र तामाङको पल्लाभारी भएको छ । महासचिवमा नरेश गेलाल र सचिवमा ईश्वर जिसी विजयी भए । ढकालको प्रजातान्त्रिक समूहबाट द्वितीय उपाध्यक्षमा भुवन गुरुङ र कोषध्यक्षमा राधिका कटुवालले जित निकालेकी छन् ।यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया