काठमाडौं । फुटको संघारबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा तत्कालका लागि खतरा टरेको संकेत देखिएको छ । अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमिति बैठकबाट आफू अनुकूल निर्णय गराउन नसकेका कारण राप्रपा ठूलो खतराबाट जोगिएको हो । राप्रपा सरकारमा जाने पक्षमा छ ।

तर, थापाले उपप्रधानमन्त्री बन्ने अबसर आफूबाहेक पार्टीमा अरुले पाउनु हँदैन भन्ने मान्यता राखेका कारण राप्रपाभित्र ठूलो विवाद छ । स्रोतका अनुसार थापालाई उपप्रधानमन्त्री हुनबाट रोक्न वरिष्ठ नेता पशुपति शम्शेर राणा, उपाध्यक्ष दीपक बोहरा, सांसद रामकुमार सुब्बासहितका नेताहरू लागेका छन् । उनीहरू थापालाई सरकारमा जानबाट रोक्नका लागि भरपूर प्रयास गरिरहेका छन् । थापा भने आफूले नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित एउटा राम्रो मन्त्रालय लिएर मन्त्री बन्ने दाउमा छन् ।

यो कुरा राप्रपाभित्र कसैलाई पनि मन परेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि थापालाई उपप्रधानमन्त्री बनाउने पक्षमा छैनन् । देउवा र दाहालले राप्रपालाई उपप्रधानमन्त्री दिन नसकिने सन्देश थापालाई दिइसकेका छन् । संविधान संशोधनमा सहयोग गर्ने आश्वासन दिएर थापा उपप्रधानमन्त्री पद हत्याउने दाउमा छन् ।

संसदीय दलभित्र अल्पमतमा रहेका थापालाई उपप्रधानमन्त्री बन्ने योजना त्यति सहज नरहेको बताउने गरिएको छ । राप्रपाका एक जना केन्द्रीय सदस्यले भने–‘कमल थापा उपप्रधानमन्त्री बनेर सरकारमा जाने अवस्था आयो भने सिङ्गो संसदीय दल विपक्षमा उभिन्छ ।’ थापाको निरंकुश कार्यशैलीबाट आजित भएका नेता र सांसदहरू अहिले दिनदिनै गुटको भेला गर्ने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया