काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् । संघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए ।

नेताहरुले माक्र्सवादी विचारलाई थप सुदृढ गर्दै एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए । संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि पूर्वमाओवादीहरु माओवादी केन्द्रसँग नजिकिन थालेका छन् ।

संघीय परिषद् बैठकमा दुई विचार जबर्जस्त रुपमा उठेको एक नेताले बताए । एकथरीले एजेन्डा मिल्नेसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानुपर्ने र अर्को धारले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् । एजेन्डा मिल्नेसँग ध्रुवीकरण गर्दै एकता गर्नुपर्ने पक्षमा पूर्वमाओवादीहरु उभिएका छन् । नयाँ शक्ति पार्टीलाई नै अझै सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राख्नेको संख्या पनि धेरै छ ।

एजेन्डा मिन्लेसँग ध्रुवीकरण गर्नुपर्ने पक्षमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, महेन्द्र पासवान, मुक्ति प्रधान, कुमार पौडेल, बलिराम साह, बहिद अन्सारीलगायत माओवादी पृष्ठभूमिका नेता छन् । तर, पञ्चलाल महर्जन, कुमार क्षेत्रीलगायत नेताले नयाँ शक्तिलाई थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

यसरी बन्यो माअ‍ोवादीसँग नजिकिने वातावरण 
संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडिएको थियो । फोरमसँगको एकता तोडिएपछि माओवादी पृष्ठभूमिका नेताहरु एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादसिँग नजिकिन थालेका छन् । फोरमसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति भएपनि नेतृत्वको विवादले एकता भाँडिएको थियो ।

पार्टीको झन्डा, निर्वाचन चिह्न र पार्टीको नामका विषयमा मिल्न सक्ने देखिएको थियो । तर, उपेन्द्र यादवले आफ्नो नेतृत्वमा भए मात्र एकता हुने भनेपछि नेतृत्वमा कुरा नमिलेको हो । नयाँ शक्तिभित्र यादवको नेतृत्वमा नजान पूर्वमाओवादीहरुले चर्को दबाब दिएका थिए ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया