महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलमा कार्यरत जवानको उनकै सहकर्मीले हत्या गरेको खुलासा भएको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत जवान २४ वर्षीय नरेन्द्र कुँवरको बुधबार राति सदरमुकाम महेन्द्रनगरमा हत्या भएको थियो । युवती विवादमा सशस्त्र प्रहरीमै कार्यरत जवान भान बहादुर विष्टले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दका अनुसार बुधवार राति ऐठपुरस्थित नहर नजिकैको संगम होटलमा बसेर मदिरा सेवन गरेका कुँवर र विष्टबीच युवतीका विषयमा विवाद भएको थियो । उनीहरुले मदिरा सेवन गरिरहेका बेला दुईजना युवती पनि त्यहाँ उपस्थित थिए । विवाद हुँदा युवतीहरु गए ।

त्यसपछि विष्ट र कुँवर होटलबाट निस्किए । कुँवरकै मोटरसाईकलमा चढेर विष्ट पनि सँगै गए । मदिराको नशा लागेकाले नहर किनारमा कुँवरले बाइक राके । नशा लागिसकेकाले पिशाब गरेर नजिकै ढुङ्गामा एकछिन आराम गर्न खोजे । आराम गरिरहेकै बेला विष्टले ढुङ्गाले प्रहार गरी कुँवरको हत्या गरे । र, कुँवरको घाँटीमा रहेको सुनको सिक्री लगेर फरार भए । जब प्रहरी टोलीले विष्टको घरमा खानतलासी गर्यो, त्यहाँ कुँवरको सिक्री फेला पर्यो । अनी हत्याको पोल खुल्यो । कुँवर र विष्टको घर एकै ठाउँमा रहेको र दुवैजना बाल्यकाल देखिकै साथी रहेको अनुसन्धानमा खुलेको छ । दैनिक नेपालबाट

तपाईको प्रतिक्रिया