बलात्कारको मामलामा दोषी पाइएका गुरमित राम रहिम सिंहलाई सोमबार १० वर्षको जेल सजायँ तोकिएको छ । हरियाणामा रोहतकको सुनारिया जेलभित्रको विशेष अदालतमा न्यायाधिस जगदीप सिंहले उक्त सजायँ सुनाएका हुन् ।

अदालतमा करिब १ घण्टा कारवाही चलेको थियो । दुबै पक्षलाई आफ्नो कुरा राख्न १० मिनेटको समय दिइएको थियो । सुनुवाईको क्रममा कोर्ट रुममा ८ जनाको उपस्थिती थियो । सुनुवाईको क्रममा राम रहीम निकै रोए । राम रहिमले न्यायाधिससँग माफी पनि माग्दै भने, ‘ममाथि दया गर्नुहोस् जज साहब’ ।

न्यायाधिस जगदीप सिंह हेलिकोप्टरमार्फत पंचकूलाबाट सुनारिया जेल पुगेका थिए । यतिबेला सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो । जेलको वरिपरि कुनै पनि अराजक तत्व देखिए सिधै गोली हान्ने आदेश दिइएको थियो । सिरसामा कर्फ्यू लगाइएको थियो । सरकारले मंगलबारसम्म इन्टरनेट सेवामा रोक लगाएका थियो । पंचकूला, रोहतक, केथल र अंबालामा स्कूल–कलेज बन्द गरिएका थिए ।

स्मरण रहोस्, २५ अगस्टमा राम रहिमलाई साध्वीमाथि बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो । त्यसपछि हरियाणा–पंजाबसमेत पाँच राज्यमा डेरा समर्थकले हिंसा र आगजनी सुरु गरेका थिए । उक्त द्दटनामा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया