baithak

मंसिर १४, काठमाडौं । बालुवाटारमा आन्दोलनरत मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता बिना निष्कर्ष स्थगित भएको छ । अब अर्को वार्ता बुधबार हुने समझदारी भएको नेताहरुले बताए । बैठकमा मधेसी मोर्चाका शीर्षनेता सहभागी नहुने भनेर हल्ला चलिरहे पनि प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट महन्थ ठाकुर हृदयेश त्रिपाठीलाई लिएर बालुवाटारमा भित्रिए ।  वार्तामा मधेसी मोर्चाले आन्दोलनमा दमन भएको जनाएको छ । मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले दमन गरेको भन्दै दमन जारी राखे अर्को वार्ता हुन नसक्ने बताए । त्यस्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले छिटो निकास खोज्न आग्रह गरे भने विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । तर कोइरालाको संशोधन प्रस्तावबारे मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

त्रिपक्षीय वार्तामा प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि आन्दोलन गर्दा देश संकटमा परेको र जनताले पीडा भोगेको भन्दै अडान छाडेर देश र जनताको भलाइका लागि सोच्न आग्रह गरेका थिए । ओलीले मधेसी मोर्चाका नेताहरुलाई आन्दोलन छाडेर देश पुनर्निर्माणमा लाग्न आग्रह समेत गरे ।यसैबीच आज स्थगित भएको बालुवाटारको बार्ता पर्सि बुधबारको लागि सरेको छ । भोलि मंगलबार आन्तरिक गृहकार्य गर्ने र पर्सि अर्को वार्ता गर्ने समझदारी दलहरुबीच भएको छ ।

 

तपाईको प्रतिक्रिया