world-aids-day

मंसिर १५, काठमाण्डौं । आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी एड्स दिवस मनाइदैछ ।यो बर्ष एड्स दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारी अन्त्य गरौं’ भन्ने नारामा २८ औं एड्स दिवस मनाइने भएको छ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।यो दिवसमा नेपालमा बिभिन्न संघ संस्थाहरुले आज बिभिन्न कार्यक्रम गरि जनचेतना जगाउने गर्छन । नेपालमा करोडौ लगानी गरेर एचआईभी एड्सको संक्रमण ८० प्रतिशत घटाईएको तथ्यांक सार्वजनिक गरिएको छ । बर्षेनी करोडौ लगानी भए पनि मध्य तथा सुदुर पश्चिममा भने अझै संक्रमणको दर उच्च नै रहेको छ ।नेपालमा कुल बयस्क जनसंख्याको ०.२ प्रतिशतमा एचआईभी एड्सको संक्रमण भएको आँकलन गरिएकोमा मध्य तथा सुदुर पश्चिममा त्यो ०.६ प्रतिशतको हाराहारीमा रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालले विश्व सहश्राब्दीको एड्सको महामारीको प्रकोपलाई रोक्ने र घटाउने नम्बर ६ लक्ष्य हासिल गरेको छ । यसका लागि नेपाल सरकार, ग्लोबल फण्ड, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुले अर्बौ रकम खर्च गरिसकेका छन् ।विश्वमा हाल ३ करोड ६९ लाख ब्यक्तिहरु अर्थात बयस्क जनसंख्याको ०.८ प्रतिशतमा एचआईभी एड्सको संक्रमण भईसकेको आँकलन गरिएको छ । नेपालमा हाल ३९ हजार २४९ जनामा एचआईभी एड्सको संक्रमण रहेको आँकलन गरिए पनि २५ हजारको हाराहारीमा मात्र ब्यक्तिको पहिचान भएको छ भने ११ हजार ८९ जनाले संक्रमण कम गर्ने औषधी (एआरभी) खाईरहेका छन् । मध्य तथा सुदुर पश्चिमका धेरै मानिसहरु कामका लागि भारत जाने र असुक्षित यौन सम्पर्क गरी फर्किएर परिवारका सदस्यहरुमा सार्ने क्रम बढी रहेकोले त्यस क्षेत्रमा एचआईभी संक्रमण कमी ल्याउन मुस्किल परेको केन्द्रले जनाएको छ ।सन् २०२० सम्ममा नेपालमा संक्रमित हुनेको संख्या ९० प्रतिशत एकीन गरिसक्ने, ९० प्रतिशतलाई एआरभी सेवा दिने र प्रत्येक संक्रमितको शरीरमा एचआईभी एड्सको जिवाणुको संख्या ९० प्रतिशतले कमी ल्याउने योजना बनाईएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया