मलेसिया १८ मंसिर / रोजगारीको लागि आएर सम्पर्कविहीन हुने नेपालीहरुको संख्या मलेसियामा बढ्दै गएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को तथ्याङ्कअनुसार यो वर्ष मात्रै १७ जना नेपालीहरु मलेसियामा सम्पर्कविहीन भएका छन् । पीएनसीसी (सामी) परियोजनाका संयोजक सुजाता उप्रेतीले केहि स्वेच्छाले सम्पर्कविहीन हुने गरेको भएपनि धेरै वाध्यताले र कतिको मृत्यु भइसकेको हुुनसक्ने बताइन् ।
‘कतिपय कम्पनीले सम्पर्क गर्नसमेत नदिँदा रहेछन्, कति जेल पर्दारहेछन्,’ उप्रेतीले भनिन्, ‘कतिले उतै विवाह गरेर बस्छन्, कमाई थोरै हुँदा र परिवारिक तनावका कारण सम्पर्कविहीन हुने गरेको अध्ययनले देखाएको छ ।’
संस्थाका अध्यक्ष कुलप्रसाद कार्कीले सामीको सहयोगमा पिएनसीसीले २०६६ सालदेखि वैदेशिक रोजगारमा अप्ठेरोमा परेकालाई सहयोग गर्दै आएको बताए । रोजगारीका लागि विभिन्न देशमा पुगेका ५८ जना नेपाली सम्पर्कविहीन भएको तथ्याङ्क रहेको र उनीहरुको खोजी गरिरहेको कर्कीले बताए ।
सम्पर्कविहीन भएकाहरुलाई सम्पर्कमा ल्याउन मिडियाले खेलेको भूमिका महत्वपूर्ण भएको बताउँदै मिडियासँग सहकार्य गर्न संस्था सँधै तयार रहेको अध्यक्ष कार्कीले बताए ।
संस्थाका महासचिव सोमप्रसाद लामिछानेले अरु देशमा भन्दा मलेसियामा सम्पर्कविहीन हुनेहरु धेरै भेटिएको र कतिपय स्वेच्छाले परिवारसँग सम्पर्क नचाहेको आफ्नो पछिल्लो भ्रमणमा भेटिएको समेत अनुभव सुनाएका थिए । साभार : अनलाइन खबरबाट