gyanendra१९ मंसिर काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग सहित विभिन्न राजावादी संघरसंस्थाले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् । मधेसी मोर्चाका युवा कार्यकर्ताको अवरोधका बापजुद राजसंस्थाको पक्षमा र नयाँ संविधानको खारेजीको माग राख्दै जुलुसले नगर परिक्रमा गरेको थियो । राजावादीले विहान करिब १० बजे जुलुस निकाल्ने तयारी गरिरहेको बेला मोर्चाले हस्तक्षेप गरी बिथोल्ने प्रयास गरेको थियो ।

राजावादीले घन्टाघर चोकमा झुन्ड्याएको पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर अंकित ब्यानर मोर्चाका कार्यकर्ताले च्यातेका थिए । मोर्चाको विरोधबीच पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे विभिन्न नारा लगाउँदै अर्को ब्यानरका साथ जुलुस निकालेका थिए ।

‘राजा आउ देश बचाउ, राजसस्था पुनर्स्थापना गर, २०७२ सालको सविधान खारेज गरी २०४७ को सविधान लागु गर’ लगायतको नारा लगाउँदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेको थियो । राजसंस्था पूर्नस्थापना संघर्ष समितिको नेतृत्वमा निकालिएको विरोध जुलुस जिल्ला प्रशासनमा पुगेर निमित प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा २०७२ को सविधानमा छुटेका स‌ंवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितिलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानलाई संशोधन गरी वा पुनर्लेखन गरी सम्बैधानिक राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा संबैधानिक मान्यता दिनुपर्ने उल्लेख गरिएको छ ।

समितिका अध्यक्ष गणेश साहले राज्य धर्मको रुपमा हिन्दुत्वलाई संवैधानिक मान्यता र मधेशी मुद्दालाई सम्बोधन गरी मुलुकलाई छिटो निकास दिन प्रधानमन्त्री ओलीसँग माग गरेको बताए । उनले साढे तीन महिनादेखि जारी मधेश बन्दले नेपाली जनताको दैनिकी सारै कस्टकर बन्दै गएपनि सरकारले ध्यान नदिएको प्रति चिन्ता प्रकट गरे ।

बहुसंख्य नेपाली जनतामा आज पनि संवैधानिक राजसंस्था र हिन्दुत्वको प्रति अपार श्रद्धा रहेको बताउँदै अध्यक्ष साहले सम्बैधानिक राजसस्था र हिन्दुत्वलाई हटाइएको दिनदेखि देशमा अनेकखालको संकट बढदै गएको बताए । आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया