Sushma-with-Morcha-650
राजनीतिक समितिमार्फत तीन महिनाभित्र प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव अस्वीकार गरेका संयुक्त लोकतान्त्रिक मधेशी  मोर्चाका नेताहरु मधेश आन्दोलनका बारेमा ब्रिफिङ गर्न भारत पुगेका छन् ।
आइतबार बिहान नयाँ दिल्ली पुगेका मोर्चाका नेताहरूले अपरान्हबाटै भारतीय नेताहरूलाई ब्रिफिङ गर्न सुरु गरेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जनता दलका अध्यक्ष शरद यादवबाट ब्रिफिङको सुरुवात गरेका हुन्। जनता दलका अध्यक्ष यादवसँगको भेटवार्तामा मोर्चाका नेताहरुले संविधानमा आफ्ना आवाज नसमेटिएका कारण आन्दोलन गरेको तर आन्दोलन थालेको चार महिना हुन लाग्दा पनि सत्तारुढ दलहरुले आफ्ना मागलाई बेवास्ता गरेको बताए। भेटवार्तापछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता दलका अध्यक्षसँगको भेटबाट आफूहरू निकै खुसी रहेको बताए।
Upendra-Yadav-with-Karan-sing
मोर्चाका नेताहरुले आइतबार नै काँग्रेस आइका नेता करण सिंह र राष्ट्रिय काँग्रेसका नेता डीपी त्रिपाठीसँग पनि पालैपालो भेटवार्ता गरेका छन्। मोर्चाका नेताहरुले सबै नेतासँगको भेटवार्तामा भारतले नेपालमा नाकाबन्दी  नगरेको बरु आफूहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण नाका ठप्प भइ आयात निर्यात प्रभावित भएको बताए।
भारतीय नेताहरूसँगको भेटवार्तामा मोर्चाका नेताहरुले सीमांकन हेरफेरको मागमा साथ दिन आग्रह समेत गरेका छन्। उनीहरूले अहिलेको सीमांकनबाट मधेशी जनता जनसंख्याको अनुपातमा निर्णायक तहमा पुग्न नसक्ने भन्दै मधेशका जिल्लाको अलग्गै प्रदेश बनाउनुपर्ने मागमा साथ दिन भारतीय नेताहरुसँग आग्रह गरे। जनता दलका अध्यक्ष शरद यादवसँगको भेटवार्ताप्छि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसको पुष्टि गरे। उनले सीमांकन हेरफेरको मागसहित भएको मधेश आन्दोलन नेपालको आन्तरिक समस्या भएपनि छिमेकीको नाताले भारतीय नेतासँग सुझाव मागेको बताए।
morcha at delhi
मोर्चाका शीर्ष नेताको टोलीमा तमलोपाकी लो प्रोफाइलकी नेतृ चन्दा चौधरी समेत सहभागी छन्। बेलुकी साँढे सात बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग डिनरसहितको भेटवार्तामा सहभागी हुने मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ताको प्रयास गरिरहेका छन्। मोर्चाका नेताहरुको भेटघाटको कार्यक्रमहरू  भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख सचिव अभय ठाकुरले गरेका छन्।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया