supreme1काठमाडौं , २१ मंसिर। शुक्रबारबाट पदावधि सकिने भएपछि तनावमा रहेका पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशले थमौतीका लागि प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई गुहारेका छन्। उपत्यकामा रहेका र बाहिरबाट आएका यी न्यायाधीशले दबाबका लागि आइतबार सामूहिक रूपमा सर्वोच्च अदालतमा पुगेर प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेका हुन्। शुक्रबारअघि नै न्याय परिषद् बैठक बसेर स्थायी वा अस्थायीमा म्याद नथपिए २८ न्यायाधीश एकसाथ पदमुक्त हुने अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपालको संविधानको धारा ३०० को उपधारा ६ ले संविधान प्रारम्भ हुँदाका बखत बहाल रहेका पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश नियुक्ति हुँदा तोकिएको अवधिसम्म बहाल रहनसक्ने व्यवस्था गरेको छ।’अधिकांश अतिरिक्त न्यायाधीश आउनुभएको थियो। प्रधानन्यायाधीशलाई भेटेर चाँडै परिषद् बैठक डाकेर सकारात्मक निर्णय गर्न आग्रह गरेका छन्’, सर्वोच्च स्रोतले भन्यो।

प्रधानन्यायाधीशलाई भेटेलगत्तै उनीहरूले कानुनमन्त्री अग्नि खरेल र नेपाल बारका महासचिव सुनिलकुमार पोखरेललाई भेटेर सहयोगको आग्रह गरेका थिए। पोखरेलले स्थायीमा नियुक्त गर्न वा २०७३ असोज २ गतेसम्म म्याद थप गर्न संविधानतः बाधा नरहेको भन्दै सान्त्वना दिएका थिए। यी न्यायाधीशको तेस्रोपल्ट थपिएको म्याद मंसिर २७ मा सकिँदैछ।

 

तपाईको प्रतिक्रिया