नागेन्द्रकुमार कर्ण
नागेन्द्रकुमार कर्ण

बसका कन्डक्टरले यात्रुहरुसंग भाडा असुलिरहेको थियो । बसमै सवार एक बलियो पाखुरा भएको खाईलाग्दा देखिने युवासंग कण्डक्टरले भाडा माँग्दा उनले एक स्वरमै दिदैनो भने । कण्डक्टर सिधासाधा भएकोले केही पनि नभनि अरु यात्रुसंग भाडा माँग्न थाल्यो । यस्तो कुरा एक दिन होइन दुई दिन होइन हप्तौं चलिरह्यो । कण्डक्टरले बसमा सवार सबै यात्रुसंग भाडा लिने गरेपनि उसलाई भने अब भन्नै छाडिसकेको थियो । तर यात्रुको यो व्यवहारले गर्दा ड्राईभरलाई भित्रभित्रै रिस उठिरहेको थियो । उनले एक स्वरमै भाडा दिदैनौ भन्ने युवासंग आफुले भाडा असुलेर देखाइदिने झोंक चलेछ । त्यसको लागि उनले केही महिनासम्म जुडो, कराँटे सिकेछन् । ड्राईभरले केही महिनाको मेहनत पछि आफ्नो शरिरलाई पनि बलियो र खाईलाग्दो बनाएछ । अर्कोदिन बसमा सवार ति युवासंग कण्डक्टरले भाडा माँग्न पुगेपछि दिदैनौं भन्दा ड्राईभरले गाडी रोकेर यात्रु कहाँ पुगेछ । ओए, मैले तिमीलाई केही महिनादेखि हेरिरहेको छु, तिमीले भाडा दिन्नौ भन्छौ । किन तिमीले भाडा दिदैनौं, भाडा निकाल । नत्र आज तिम्रौ खैर छैन । यति सुनेपछि ति यात्रुले गम्भीर भएर भनेछ मसंग बसको पास छ ।
समस्यालाई तत्काल समाधान नगरिए थप मेहनत तथा समयको वरवादी बाहेक केही पनि हात लाग्दैन कथाको सार हो । कण्डक्टर र ड्राईभरले तत्कालै ति यात्रुसंग भाडा किन दिदैनौ सोधेको भए समस्याको हल निस्किन्थ्यो । ड्राईभरलाई महिनौसम्म न त जुडो, कराँटे सिक्नुपथ्र्यो न त धन र समयको ववार्दी नै हुन्थ्यो । हो, यही कथाको नाटक अहिले नेपालको राजनीतिक परिदृश्यमा देखिएको छ । कथामा भनिएको ड्राईभरको भूमिकामा स्वयं प्रधानमन्त्री तथा सत्ताधारी पार्टी छन् भने कण्डक्टरको भूमिकामा विपक्षी तथा सत्तामा नरहेका दलहरु छन् । त्यसैगरी यात्रुको भूमिकामा अधिकारको लागि लडिरहेका जनजाति, थारु, मधेशवादी दलसहितका छन् । सत्ताधारी तथा स्वयं प्रधानमन्त्रीले देशको एक भागमा भईरहेको आन्दोलनलाई तत्कालै सम्बोधन गर्नुपर्नेमा दशैं, तिहार र छठसम्म लम्बाएर शतक पुरा गराइदिएका छन् । प्रधानमन्त्रीले तराई क्षेत्रमा धुमधामका साथ मनाइने दशै, दिपावली तथा छठ लगायतका पर्वहरुमा आफै उनीहरु वन्द फिर्ता लिने विश्वास गर्नुभएको थियो । तर, त्यो विश्वासमा तुसारापात भयो । यसपाली भएन भने अब कहिल्यै पनि नहुने अर्थात आर की पारको सोचमा रहेका मधेशी, थारु, जनजातिहरु यसपाली जति लडेपनि लडने तर लिएरै छाडने मनस्थितीमा छन् । त्यही भएर उनीहरु उत्साहपूर्वक पर्वहरु नमनाए पनि बन्दलाई भने निरन्तरता दिइ नै रहेका छन् । आन्दोलनले शतक दिन भन्दा बढि दिन पनि पुरा गरिसकेको छ ।
विश्वको कुनै पनि देशमा यतिको दिनसम्म एउटा भूभागमा आन्दोलन भएको घटना विरलै होलान् । तर पनि अहिलेसम्म आन्दोलनको सम्बोधन हुने छाँटकाँट देखिएको छैन् । अझै पनि आन्दोलन लम्बिने संकेत देखिएको छ । तर यो संकेतले देशमा ठुलो अनिष्टताको संकेत पनि गरिरहेको छ । तर व्यक्तिगत निहित स्वार्थमा रहेका राष्टियदलका प्रमुखहरुको जिद्दी भने कायमै छ । भनिन्छ, अतिले गर्छ खति । यस्तै अवस्था नेपालमा नहोला भन्न सकिन्न् । यसमा स्वयं राष्ट्रीय पार्टीका अध्यक्षहरु लागि परेका छन् । समस्याको समाधान गर्नुको साटो समस्यालाई अझै बल्झाउन तर्फ लागिरहेका छन् । कहिल्यै राष्ट्रवादको नाममा त कहिल्यै स्वाभिमानको नाममा । लाग्छ, मधेशमा अधिकारको लागि भइरहेको आन्दोलनको सम्बोधन भयो भने यसले उनीहरुको राष्ट्रियता तथा स्वाभिमानमा प्रश्नचिन्ह खडा हुन्छ । उनीहरुको वेईज्जती हुन्छ ।
अहिले त झन छठ पछिको अवस्था भयावह बन्दै गएको छ । राज्यले आन्दोलनकारीको माँग पुरा गर्नुको साटो थप आक्रामक बनाउँदै लगेको छ । यसको पुष्टि सप्तरी घटनाले गरिसकेको छ । सत्ताको उन्मादमा एमाले, एमाओवादी लगायतका दलहरु रंगिइसकेका छन् । निर्दोष जनताहरुलाई मार्ने कामलाई जारी राखेका छन् । लाग्दछ, काठमाण्डौ, पहाड र हिमाल मात्रै नेपाल हो । बाँकी अन्य भूभाग विदेश हुन् । मधेशी, थारु, जनजातिहरुको समस्यालाई भारतले उचालेको लाग्दछ । आन्दोलनकारीहरुलाई आन्दोलन गर्नुको औचित्य नै थाहा नभएको खस शासकलाई लाग्दछ । समस्यालाई राजनीतिको भोटले तुलना गरिदैछ । ८५ प्रतिशत जनप्रतिनिधिहरुले बनाएको संविधान त्रुटिपूर्ण हुनै सक्दैन् भन्ने सोचाई विद्यमान छ । भोटलाई पनि दुई किसिमले व्याख्या गरिदैछ ।
भोटको पनि अब नेपालमा दुईवटा मूल्य हुन थालेको छ । पहाडमा एकदिनमै माँग पुरा गरिने तर मधेशमा महिनौसम्म तथा पाँच दर्जन जतिको शहादतलाई पनि विश्वास गर्न नसकिने । कस्तो, राज्य व्यवस्था र शासकहरु छन् । आन्दोलनमा प्रजातान्त्रिक मूल्य मान्यता भएन तर उनीहरुले गरिरहेको आदेश, शासन प्रजातान्त्रिक छन् । कस्तो हास्यास्पद । देखेर, सुनेर पनि ग्लानी महसुस हुन थालेको छ । समस्यालाई तत्काल समाधान गर्नुको साटो स्वावलम्बी बन्ने कुरा गरिदैछ । स्वावलम्बी बन्नुपर्दछ र यस्तो क्रियाक्लाप गर्नु पनि पर्दछ । यसमा कुनै खराबी छैन् र कसैको यसमा रोक पनि छैन् । तर आगो लागेपछि ईनार खन्नुको औचित्य के त ? यसमा पनि विचार गर्नु जरुरी छ । पहिला आगो निभाउ अनि ईनार खन्दा राम्रै हुन्छ नि, कसो ? तर शासन सत्तामा मस्त भएकाहरु ‘मै खाउँ मै लाउँ सुखसयल वा मोज मै गरुँ’ मा लागेका छन् ।
तराई, पहाड, हिमालको समस्या भन्दा उसलाई काठमाण्डौको समस्या बढी विकराल भएको लाग्छ । तराईका मानिसहरु करिब चार महिनादेखि कसरी बाँचिरहेका छन् भन्ने हेक्का पनि छैन् र राख्न जरुरी पनि वुझेको छैन् । किनकी तराईका जनताहरु अहिले पनि उनीहरुको लागि रैती नै हुन् । विदेशी हुन् । त्यही भएरै होला काठमाण्डौ लगायत अन्य जिल्ला तथा शहरकाहरुले सरकारसंग वा राज्यसंग कहिले पनि मधेशको माँग पुरा गर भनेनन् मात्रै पेट्रोल उपलब्ध गराउ, ग्याँस उपलब्ध गराउ भन्नमै मस्त छन् । महाभुकम्प जाँदा नमो नमोको रटान रटने त्यही समुदाय अहिले उनको पुत्ला दहन गर्नमै मस्त छन् । उनको राष्ट्रियता पनि पुत्ला जलाउने र विरोध गर्नुमै देखिन्छ ।
मैथिलीमा भनिन्छ, दुरके ढोल सुहावन लागे झै आन्तरिक समस्या नदेख्नेहरु भारतले नाकावन्दी गरेको र विभिन्न सन्धीसम्झौताले गर्न नसकिने कार्य गरिरहेको भन्छन् तर अन्य नाकाबाट दिनहुँ सयौं गाडीहरु नेपाल प्रवेश गरेको देखदैनन् । भदौमा आँखा फुटेको गोरु सधै हरियो नै देख्छ भन्ने उखान चरितार्थ गर्न लागिपरेका छन् । झन अहिले त बालअधिकारको वकालत गर्ने तथा वालअधिकारलाई संस्थागत गर्नुपर्ने निकायबाट नै यसको विपरितको कार्य हुन थालेको छ । विद्यालयका कलिला बालबालिकालाई मानव साङ्गलो निर्माणको नाममा उत्तेजना फैलाउने काम भइरहेको छ । आखिर विद्यार्थीलाई सडकमा उतारेर के सन्देश दिन खोजिएको छ यसको उत्तर सम्बन्धित निकायले दिनुपर्छ, होइन भने यस्तो कार्यलाई तत्कालै बन्द गर्नुपर्छ ।

तराई मधेशमा पनि तत्कालै प्रतिक्रिया शुरु गरिहाल्ने प्रवृत्ति हावी भएको छ । यसलाई पनि संयुक्त मधेशी मोर्चा तथा अन्य वुद्धिजीवीहरुले विरोध गरेर यस्तो कार्य गर्न गराउनबाट सचेत गराउन लाग्नुपर्छ । अहिले त नेपालीहरुमा नश्लवादी चिन्तन हावी भइरहेको बेला विद्यार्थी बालबालिकालाई पनि यसमा समावेश गरिदिने हो भने भविष्यको कल्पनाले आङ्गसिरिङ्ग बनाउँछ । त्यसैले पनि यस्तो कार्य गर्न गराउनु कुनै पनि पक्षबाट क्षम्य नहुने वातावरण बनाउन जरुरी छ । देशको वर्तमान परिदृश्य हेर्दा नेपालमा दुईथरीका नश्लवादी चिन्तन हावी भएको देखिन्छ ।
एकातर्फ खसवादी चिन्तन हावी छ भने अर्कोतर्फ मधेशवादी चिन्तन हावी छ । एउटा नश्लवादी राष्ट्रवादको खोक्रो रटानमा मस्त छ भने अर्को नश्ल आफ्नो राष्ट्रवाद खोज्दै हिडिरहेका छन् । अवस्था कतिसम्म भयावह छ भने एक नश्लवादी चिन्तनले अर्को नश्लवादी चिन्तनलाई पनि शंकाको दृष्टिले हेरिरहेका छन् र ति दुवै तर्फका केही नश्लचिन्तनधारीहरुले शंकाको लाभ लिन खोज्दैछन् । ती लाभ विद्यार्थी बालबालिकाहरुलाई सडकमा उतारेर लिइरहेको भन्न सकिन्छ । तर यो नश्लवादी चिन्तन समयमै रोकिएन भने यसले नराम्रो परिणाम ल्याउने देखिन्छ । त्यसैले पनि अहिलेको यो समयमा नश्लवादी चिन्तनबाट माथि उठनु जरुरी छ ।मधेशवाणीबाट

 

तपाईको प्रतिक्रिया