अमर काफ्ले पुष २७ इनरुवा/एकसाता यताको जारी शितलहर अझै रोकिने छाँटमा छैन् । मौसम पूवानुमान महाशाखाले राजधानी सहित पूर्वी तराईका जिल्लाहरुमा अझै केहिदिन शितलहर रहने हुँदा जाडो बढ्ने सम्भावना दर्शाएको छ ।चिसोका कारण देशैभरीको जनजीवन प्रभावित बनिरहँदा निकैले ज्यान गुमाइसकेका छन् । निम्म वर्गिय समूदाय जाडोका कारण बढी प्रभावित बनेको छ ।


सुनसरीमा करिब ३५ हजारको हाराहारीमा मुसहरीहरुको बसोवास छ । जिल्लाको इनरुवा, डुम्राहा,चाँदबेला, सिंगिया, भरौल, श्रीपुर, हरिपुर, मधुवन, सिमरिया, औरावनी,पूर्व कुशाहा, सत्तेरझोडा, लगायतका भेगमा बसोबास गर्दै आएका मुसहर समूदाय जाडोका कारण बढी प्रताडित छन् । अधिकांश मुसहरी वस्तीमा बालिएको घुर निभ्न सकेको छैन् । जाडो सुरु भएसँगै घरआँगन र वस्तीमा बाल्न सुरु गरिएको घुर दिनानुदिनको बढ्दो चिसोका कारण निभेको छैन् । विपन्न समूदाय भएकै कारण आफुहरुकालागि घुरमा दिनरात बिताउनु बाहेकको विकल्प नरहेको उनिहरुको गुनासो छ ।


शरिर ढाक्ने न्यायो कपडा, सुत्ने ओछ्यान र ओड्ने लुगाफाटो नभएकाले सामान्यतया च्यादर ओढेर घुरमा दिन बिताउनु आफुहरुको बाध्यता रहेको इनरुवा ३ का भुण्डले सदा बताउनु हुन्छ ।गरिबिका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समूदाय जाडोका कारण काममा जान नसक्दा परिवारको जर्गो टार्ने समस्याले थप पिरलिएको छ ।सुनसरीको डुम्राहामा रहेको सबै भन्दा ठुलो मुसहरी वस्तीमा प्रत्येक घर आँगन अगाडी खरानीको थुप्रो र परालको घुर देख्न सकिन्छ । वरिपरी भेला भएर जाडो छल्न रातदिनको साहारा घुरमात्रै भएको स्थानीय बिनोद ऋषिदेवको भनाई छ ।मुसहरीहरु जाडो छल्न घुर ताप्नुका साथै रक्सी सेवन गरी बस्ने गरेका छन् । रक्सीले जाडोको अनुभूति कम हुने भन्दै घुर तापेर समय बिताइरहेको स्थानीयहरु बताउँछन् ।


मुसहर समूदायका अगुवा घोघांइ ऋषिदेव जाडोले आफुहरुको दैनिकी कष्टकर बनेको बताउनु हुन्छ ।इनरुवा ३ को कंशमरणका मुसहरीहरुको व्यथा समेत निकै कष्ठकर छ । कुरुवा खोलाको डिलमा बसोबास गरिरहेका मुसहर परिवारमध्ये हट्टाकट्टा मात्रै काममा जान सकेका छन् । आश्रित गर्भवती, नवजात शिशु, बालबालिका, महिला, जेष्ठ नागरिक र अपाङगहरु चिसोका कारण थप कष्टकर अवस्थामा पुगेको छ ।स्थानीय निकायले चिसो पीडितहरुकालागि न्यायो कपडा बितरण गरिरहेको जनाएको छ । ठाउँठाउँमा आगो ताप्न दाउरा बाँडिएको छ । यद्यपी राहत सबै वास्तविक पीडितकहाँ पुग्न सकेको देखिँदैन् । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले विपन्न र पीडित परिवारको पहिचान गरी कम्बल वितरण जारी राखेको बताउनुभयो ।


पीडित परिवारहरु भने जाडोको कम्बल लगायतका सहयोग विपन्न , गरिव परिवार र वस्तीमा भन्दापनि राजनैतिक आस्थाका आधारमा हुनेखाने र पहुँचका आधारमा समूदायका अगुवा र जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप वितरण गरिँदै आएको बताउँछन् ।सुनसरी प्रशासनले जाडोलाई मध्यनजर गरी प्रत्येक स्थानीयतहका विपन्न परिवारकहाँ पुग्ने गरी ५ हजार कम्बल बितरण गरिसकिएको जनाएको छ ।रेडक्रस, सहित स्थानीय संघसंस्था लगायतले समेत न्यायो कपडा वितरण जारी राखेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया