अमर काफ्ले माघ २ इनरुवा/योद्धा पत्रकार डम्बर बहादुर थापाको आज विहान निधन भएको छ ।  ७६ वर्षको उमेरमा थापाको इनरुवा ६ मधेशा स्थित रहेको निवासमा निधन भएको हो । दमको विरामी थापा केहि सातायता नियमित औषधी सेवनको क्रममा रहेका थिए । थापाको दाहसंस्कार सुनसरी खोलामा गरिने पारिवारिक सदस्यहरुले जनाएका छन् ।

नेपाली प्रेस जगतका निडर पत्रकारका रुपमा चिनिएका थापा पंचायत कालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा पहिचान स्थापित गराउन सफल बनेका थिए । तत्कालिन पंचायति व्यवस्थाका समयमा प्रेस स्वतन्त्रता नभएको र शाषक विरुद्ध शिर उठाउन समेत असहज परिस्थितिकावीच थापाले आफुलाई निडर पत्रकारका रुपमा स्थापित गराएका थिए । बहुदल प्राप्तीका लागि निडर भएर कलमका माध्यमबाट जनतालाई जागरुक गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण उनले २०४७ साल फागुन २४ गते योद्धा पत्रकारको उपनाम सहित सृजनशिल पत्रकारिता पुरस्कार समेत हात पारेका थिए ।

बाबु चेतजड्ड थापा तथा आमा गंगादेवि थापाका सन्तानका रुपमा सप्तरीको राजविराजमा जन्मेका पत्रकार डम्बरबहादुर थापाले मातृभूमि साप्ताहिकबाट पत्रकारिताको थालनी गरेका थिए । त्यस पश्चात प्रगति, करेन्ट लगायत विभिन्न छापा माध्यममा एक सफल पत्रकारका रुपमा थापाले काम गरेका थिए । थापा २०२७ सालमा विराटनगरमा स्थापना भएको प्रेस क्लबका संस्थापक सदस्य समेत रहेका थिए ।

थापाले आफ्नो पत्रकारिताको अवधीको विभिन्न समयमा गरी ५४ पटकमा ३ वर्ष ९ महिना १७ दिन जेल जीवन समेत भोग्नु परेको थियो । समाचार संप्रेशण गरेका कारण तत्कालित पंचायति व्यवस्थाका पृष्ठपोषकहरुबाट कारागारमै रहेको अवस्थामा थापाको ज्यान लिने प्रयास समेत भएको थियो । थापालाइ विराटनगर कारागारमा २१ दिन अनशन बसी विरामी भएपश्चात जेल मुक्त हुन पुगेका थिए । पत्रकार डम्बर थापालाई नेपाली पत्रकारिता इतिहासकै पहिलो अन्तरवार्ताकारका रुपमा समेत लिने गरिन्छ । थापाले तत्कालिन अवस्थामा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी,वीपी कोइराला,गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला,कृष्णप्रसाद भट्टराई, तत्कालिन राजा महेन्द्र ,पूर्व भारतीय प्रधानमंत्री चन्द्र शेखर लगायत ८ हजारबढी विशिष्ट व्यक्तिहरुको अन्र्तवार्ता लिएका थिए । योद्धा पत्रकार डम्बर बहादुर थापालाइ इनरुवा अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ।

तपाईको प्रतिक्रिया