Timure-gau-rasuwa-2काठमाडौं, २२ मंसिर । नेपाल-चीन सिमाना रसुवागढीमा सुक्खा बन्दरगाह बनाउने प्रक्रिया सुरु भएको छ। आवश्यक जग्गा मुआब्जा दिइनेलगायत विविध प्रक्रिया मिलाउन सोमबारदेखि स्थलगत अध्यययन सुरु भएको हो। नेपाल र चीन व्यापार तथा पारबहन सहज बनाउन रसुवाको टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणका लागि सरकारले तदारुकता अपनाएको छ। यस सम्बन्धमा सोमबारदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेका प्रतिनिधि, सांसदबाट रसुवा प्रशासन तथा स्थानीयबासीसँग अन्तरक्रिया र स्थलगत अध्ययन सुरु भएको छ।

चारजनाको टोलीले स्याफ्रुबेसी-रसुवागढी मार्गको बीचमा रहेको टिमुरे गाविस वडा नम्बर ५ र ६ मा एक सय ६७ रोपनी क्षेत्रफल जग्गामा सुक्खा बन्दरगाह बनाइने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले बताए। उनका अनुसार नेपाल र चीनबीच गरिएको सुक्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झौताले टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको बन्दरगाह निर्माणकार्यलाई मार्ग खुला गरेसँगै यसको प्रक्रिया सुरु भएको हो।

यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेको सुक्खा बन्दरगाह हेर्ने विकास समिति ऐन २०१३ अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले हेमेन्द्रमोहन शाहीको नेतृत्वमा चारजनाको टोली स्थलगत अध्ययनका लागि रसुवा पठाएको छ। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया