३ माघ, इनरुवा। सुनसरीको गढी गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा शिक्षकहरु नियमित नआएका कारण पढाइ प्रभावित भएको विद्यार्थीहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक दैनिक जसो घरायसी काममै व्यस्त भएकाले विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको कक्षा ९ र १० का विद्यार्थीहरुले बताएका छन् ।

विद्यालयमा २२ जना शिक्षक कर्मचारी रहेको भएपनि आज गरिएको छड्केमा ५ जना कर्मचारी मात्र भेटिएको सहकर्मी बिरेन्द्र मेहताले जानकारी दिनुभयो । विद्यालयमा आउने विद्यार्थीहरुलाई नियमित नपढाएको कारण विद्यार्थीहरु समेत विद्यालय आएर रित्तै फर्किने गरेको विद्यार्थी संजय यादवले बताउनुभयो । कक्षा ९ र १० का विद्यार्थीहरुले अतिरिक्त विषयका पुस्तक समेत नपाएको विद्यार्थी आनन्द कुमार यादवले बताउनुभयो ।

विद्यालयका अधिकांश शिक्षकहरुले समयलाई ध्यान नदिएको, कक्षाकोठामा नियमित नआएको, आएका शिक्षकहरुले समेत कक्षा नलिएको र प्रधानाध्यापक कागज मिलाउने काममा मात्र व्यस्त बनेको कारण विद्यालयमा पठनपाठन नभएको बताइएको छ । विद्यालयका अधिकांश विद्यार्थीलाई पुरानो पुस्तक दिएको विद्यार्थीहरुले बताएका छन् । विद्यालयले भने नयाँ किताव दिएको दाबी गरेको छ ।

उता कोसी गाउँपालिका २ स्थित रहेको कोसी माविमा समेत नियमित पठनपाठन नभएको विद्यार्थीहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक नागेश्वर साह आफै कमजोर भएको र काम चोर प्रवृत्तिका भएकाले विद्यार्थीहरुले नियमित रुपमा पठनपाठन गर्न नपाएको गुनासो आएको छ । प्रअ साहको नैतिक र शैक्षिक चरित्र माथि प्रश्न गर्दैै केही महिना अघि शिक्षकहरु आन्दोलित बनेका थिए भने केही समय यता विद्यालयमा उपस्थित नभई अग्रिम रुपमै हाजरी गरेर प्रअ बाहिरिन थालेपछि विद्यालयको अवस्था झन नाजुक बन्दै गएको हो । विद्यालयमा प्रअको काम चोर प्रवृत्ति र कक्षाकोठामा गलत पढाउने तथा नेपाली समेत बोल्न नजानेको अवस्थाले शिक्षकहरुले समेत उँहालाई नमानेको देखिएको छ ।

विद्यालयमा अग्रीम हाजरी गर्ने गराउने, हरहिसाब पारदर्शी नराख्ने, पैसाको लोभमा अग्रेजी माध्यममा संचालन भएको कक्षा १ को अर्धवार्षिक परिक्षाको प्रश्नपत्र नेपाली माध्यमकै ल्याएको लगायतका फटाही प्रअ साहले गरेपछि माथिल्लो कक्षा लिदै आएका आधारभूत तहका शिक्षकहरुले कक्षा समेत बहिस्कार गरेको एक शिक्षकले बताएका छन् । प्रअ साहले आफ्नो सामान्य पदिय हैसियत र जिम्मेवारी समेत पुरा नगरेकाले शिक्षक, विद्यार्थी र अभिभावकले समेत प्रअको हैसियतमा नमानेको अवस्था सिर्जना भएको स्थानीयहरुले बताएका छन् । उक्त विद्यालयमा भाडाका विद्यार्थी तथा अवैध रुपमा संचालन भएको नीजि विद्यालयको विद्यार्थी राखेर फटाही गरिरहेको समेत खुलेको छ । त्यस बापत प्रअ साहले वार्षिक लाखौं रकम कमीसन लिने गरेको र विद्यालयमा आउने छात्रवृत्ति, पाठ्यपुस्तक र एसआइपी निर्माण गर्ने लगायतका शिर्षकका रकममा समेत हिनामिना गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया