अमर काफ्ले मंसिर २२ इनरुवा /
आज दिउँसो भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएका ५२ जना नेपाली मध्ये अधिकांश घर फर्केका छन् ।
एसएसबीको नियन्त्रणमा रहेकाहरु नेपाली सुरक्षा निकाय सँगको समन्वय पश्चात दिउँसो नै घर फर्केका छन् भने केहीलाई भने सुनसरी प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा परिवार झिकाई जिम्मा लगाउँदै छ ।
सुनसरीको भाण्टावारी नाका हुँदै भारतीय सुपौलको बाटो हुँदै पटना हिँडेका नेपालीहरुलाई बिरपुर स्थित रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको थियो ।
एकसाथ ठुलो हुल नेपाली भूमि हुँदै भारतीय भूमिमा प्रवेश गरेको देखेपछि सुरक्षाको कारण देखाउँदै उनिहरुलाई नियन्त्रणमा लिनुपरेको एसएसबीले जानकारी दिएको सुनसरी प्रशासनले जनाएको छ ।
१९ जना महिला र ३३ जना पुरुषको समूह रोजगारीका लागि भारत हिंडेको बुझिन आएको छ । रोजगारका लागि जाने क्रममा साथसाथै सँगै हिँड्ने क्रममा आफुहरुलाई एसएसबीले नियन्त्रणमा लिएको भनी पक्राउ परेका नेपालीहरुले नेपाल प्रहरीसामू बयान दिएका छन् ।
एसएसबीले नेपालीलाई नियन्त्रणमा लिए लगत्तै सुनसरी स्थित रहेको नेपाली सुरक्षा निकायलाई खबर गरेको थियो । नेपालीहरु पक्राउ परेको खबर पाए लगत्तै सुनसरी प्रहरीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी कोइराला भारतको विरपुर पुगेका थिए ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार एसएसबीले ठुलो हुल नेपाली नाका हुँदै भारतीय भूमिमा प्रवेश गर्न लागेको र समूहमा महिलाहरु समेत भएकाले मानव वेचविखन हुन सक्ने भन्दै सोधपुछका लागि नेपालीहरुलाई नियन्त्रणमा राखिएको हो ।
प्रहरी उपरीक्षक संजयराज शर्माका अनुसार १६ जना नेपालीहरुलाई आज अबेर सम्म प्रहरी उपरीक्षक कोइरालाको टोलीले प्रहरी कार्यालयमा ल्याइपुर्याउने र परिवारको जिम्मा लगाउने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया