Petrol1२२ मंसिर, काठमाडाैं । नेपालले साउदी अरेबियाको सरकारसँग एक करोड लिटर तेल अनुदानमा उपलब्ध गराउन आग्रह गरेको छ ।
भारतको नाकाबन्दी कायमै रहिरहँदा इन्धन संकट टार्नका लागि भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी अरेबियसँग तेल उपलब्ध गराउन आग्रह गरेको हो ।

यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सह-सचिव शिवप्रसाद त्रिपाठीले बताए ।परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ ।

‘चीनको अनुदानको पेट्रोलले केही राहत दिएको थियो । त्यसैगरी साउदी अरेबियाले पनि सहयोग गर्न सक्ने भएकाले पत्र काटेका हौं ।’ सहसचिव त्रिपाठीले भने-‘१० हजार किलोलिटर तेल उपलब्ध भयो भने अहिले पनि हामीले ठूलो राहत महशुस गर्न सक्ने अवस्था छ ।’

मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार काठमाडौंस्थित साउदी अरेबियाका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको हो ।

‘काठमाडौंमा रहेका राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको हो । साउदीमा रहेको नेपाली राजदुताबासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त छ ।’ ति अधिकारीले भने ।

 

तपाईको प्रतिक्रिया