११ माघ, खोटाङ। खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति फेला परेको हो । बुधबार दिउँसो देखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् ।

हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । ‘पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छन’–उनले भने, ’के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी छ ।’ स्थानीयले भने जीउधनले बालिकाको बलात्कार पछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन्। पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् ।

तपाईको प्रतिक्रिया