११ माघ, जनकपुरधाम। धनुषाको वनबाट घाइते एक अजिङ्गरको उद्धार गरिएको छ। धनुषाको साझेदारी वनबाट बुधबार मरासन्न अवस्थामा फेला परेको अजिङ्गरलाई जिल्ला वन कार्यालय धनुषा र मिथिला वाईल्डलाईफ ट्रस्टका पदाधिकारीहरुको संयुक्त टोलीले उद्धार गरेका छन् ।

मरासन्न हुनेगरि कुटपीट गरि घाईते बनाएर बेहोस छोडिदिएका अजिङ्गरलाई मंगलबार ढल्केवरका एक जना गोठालोले देखेपछि जिल्ला वन कार्यालय धनुषालाई खबर गरेका थिए । त्यसपछि बुधबार वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्मा र वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल सहितको टोली पुगेर अजिङ्गरको उद्धार गरेको हो । १७ फिट लामो र ४० किलो तौल भएको घाईते अजिङ्गरलाई धनुषाधामको संरक्षित वनमा लाई उपचार भइरहेको छ ।

‘शरीरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । सुरुमा मरेकै जस्तो लागिरहेको थियो ’, भन्दै सहायक वन अधिकृत शर्माले भन्नुभयो ‘पछि पुच्छर चलाएपछि जिउँदो हो लाग्यो । त्यसपछि हामीले उद्धार गरेर ल्याई उपचार गरिरहेका छौं ’। गोठालाहरुले नै मराशन्न हुनेगरि कुटपीट गरेर मर्यो भनेर फालि दिएको हुनसक्ने शर्माको भनाई छ । अहिले धनुषा संरक्षित वनमै राखेर उपचार गरिने र निको भएपछि यहिँ राख्ने अथवा सुरक्षित वनमा गएर छोडिने निर्णय गरिने सहायक वनअधिकृत शर्माले बताउनुभयो ।

यस अघि धनुषाधाम वाईल्डलाईफ ट्रस्ट र वनका कर्मचारीहरुले संरक्षित वनमा दुई वटा किंगकोवरा सर्प ल्याएर अवलोकनका लागि सिसाको घरमा राखेका छन् । पर्यटकीय गन्तव्य स्थल वनाउन थालिएकोले उक्त अजिङ्गरलाई पनि अव्लोकनका लागि राख्न सकिने वन कार्यायले जनाएको छ । टुडेपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया