काठमाडौं, १२ माघ । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।वाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार यस्तो केन्द्र प्रदेश १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा हुनेछन् ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन भत्ता
मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय खेलहरुमा नेपालका लागि पदक जितेका खेलाडीलाई आजीवन भत्ता दिने पनि निर्णय गरेको छ। खेलाडीहरुलाई जीविकोपार्जन भत्ताका रुपमा मासिक ५ हजार रुपैयाँ दिइनेछ।

परिवार नियोजन संघमा गिरी
सरकारले परिवार नियोजन संघको केन्द्रीय समिति भंग गरी अध्यक्षमा चक्रबहादुर गिरीलाई नियुक्त गरेको छ। संघका अन्य सदश्य भने नियुक्त गरिएका छैनन्।

सचिव सरुवा
बिहीबारको मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेलाई सर्वाजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरेको छ। खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई पर्यटनमा सरुवा गरिएको वाणिज्य मन्त्री विश्वकर्माले बताए।

३८ जना सहिद घोषित
चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि सहित घोषणा गर्ने निर्णय गरिएको छ ।

द्वन्द्वकालमा मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नं १२ गोलगोल खाँडालाई तोक्ने र परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीका अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।कान्तिपुर दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया