मेष राशिः
मेष राशि हुनेहरुको लागि आज मध्याह्नसम्म गोचर स्थिति ठिकै देखिएको छ । रपनि फुर्ति ठूलै हुने तर बढी ईच्छा राखेको काम बन्न कठिन पर्नेछ । नगरी नहुने कार्यलाई अल्लि बढी ताकेता गर्नु उपयुक्त हुनेछ । मध्याह्नपछि भने कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ ।  हतारभन्दा धैर्य गर्नु तपाईँको लागि बुद्धिमानी हुनेछ । कसैकसैलाई वादविवादको झमेला पर्नसक्ने छ बोली तथा व्यवहारमा होसियारी रहनुपर्ला । चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने मध्याह्नपूर्व भगवान श्री हनुमानको स्तुति र उपरान्त आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन फलिफाप ग्रहगोचर परेको छ । शारीरिक एवम् मानसिक शक्तिको भरपुर प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । यद्यपि महत्त्वपूर्ण काममा केही अवरोध आउनसक्ने कुरालाई नकार्न सकिन्न तर पनि जोशजाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । महत्त्वपूर्ण कार्यमा आउने बाधाबिघ्न निवारणको लागि भैरवदेवलाई खुशी बनाउनु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचरको केही अबरोधको बाबजुत पनि उद्यम–व्यवसायिक कार्यमा स्तरोन्नतिको जमर्को हुनेछ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने  बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । धनधातु एवं खजानाको कोष बृद्धिहुने छ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्गको प्रयोग व्यवहार शुभ हुनेछ भने कुमारी देवीको श्रद्धाभक्ति एवं दर्शन गर्नाले थप सफलता दिनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि मध्याह्नबाट सुधार आउनेछ रपनि दिन संघर्षकारक नै रहेको बुझ्न जरुरी छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ ।  सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले मध्याह्नबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु र ॐ गं गणपतये नमः मन्त्र १०८ जप गरी कार्यक्षेत्रमा लाग्नु आज तपाईको लागि शुभफलकारक हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म समयअनुकूल नै रहेको देखिन्छ । तदुपरान्त भने केही संघर्षको अनुभूति हुनसक्ने छ । खर्च बढ्नसक्ने सम्भावना देखिएको छ तथापि स्वकर्ममा रत्रहनाले आकस्मिक आयआम्दानी पनि हुनेछ । कामकार्यमा अबरोधको सामना गर्न पर्नसक्छ । स्वजनसँग विछोडिन पर्ने तथा कसै कसैलाई अप्रिय समाचार सुन्नुपर्ने पनि हुनसक्नेछ । भौतिक आसक्ति बढी भएका व्यक्तिहरुलाई चिन्ता बढ्नसक्ने छ । आफ्नो नियतमा सकारात्मक भावना राख्नेलाई सम्भावित प्रतिकूलता कम भई शुभ फल प्राप्त हुनेछ । आज तपाईले भगवान श्री गणेशको स्तुति आराधना तथा साधना गर्नु विशेष पूण्यप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिनको पहिलो खण्ड आश्वासन मिल्ने काम बनिहाल्न ढिलाई हुने हुनसक्नेछ । क्रमशः प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने आत्मबलमा आएको ह्रासलाई न्यूनिकरण गर्न भगवान हनुमानजीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आज यद्यपि मान एवं अर्थ लाभ हुने दिन परेको छ । तथापि विशेष मानिएको उपलब्धि हुनलाई भने अबरोध देखिएको छ । पेशा एवम् व्यवसायको महत्त्वकांक्षी योजना भने हुनसक्ने छ । मानसम्मान मिल्ने, सामाजिक प्रतिष्ठा बढ्न भने सक्नेछ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज तपाईको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको दर्शनभक्ति शुभकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्मको समय अल्लि कष्टकर नै रहनेछ । संघर्ष जन्य परिस्थितिसँग मुकाबिला गरिरहनु पर्नेछ । उपरान्त क्रमशः अनुकूलता आउनाले स्वास्थ्यमा सुधार आउने छ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने एवम् धर्मकर्ममा मन जाने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । मनोकूल वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अंक पहेलो रंग र असहाय क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्याह्नसम्म उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुन सक्नेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज तपाईको लागि भगवान श्री गणेशदेवको स्तुति उपाशना एवं भक्ति बढाउनु हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन स्वजनबाट सहयोग मिल्ने, प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्ने हुनाले समग्रमा दिन उमङ्गिलो रहनेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सजिलो हुनेछ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । क्रमशः प्रमोदीचर्या बढ्ने गोचर परेकोले दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । आज यहाँहरुको लागि हनुमानदेवको भक्तिभाव गर्नु शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मध्याह्नसम्म दिन स्वानुकूल नै रहने देखिन्छ । केही कामकार्य बन्ने र विद्याबुद्धिको विकास हुनेछ । अपराह्नबाट भने अप्रत्यक्ष रुपमा बाधाब्याबधान नआउला भन्न नसकिने गोचर भएपनि सामान्यतया दैनिकी कामकार्य ठिकै रुपमा सुचारु हुनसक्ने छन् । बढी ईच्छ्याएको काम कार्यान्वयन हुन अल्लि गार्हो पर्ने भएकोले आज यहाँले कुनै पनि विषयमा बढी आसक्ति नगरेको राम्रो हुनेछ । तथापि आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, शर्त गरेर विपक्षिसँग  सम्झौतामा आउनसकिने छ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने भैरवदेवको स्तुति शुभकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्याह्नसम्मको समय केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । संवाद तथा वहस वा अन्तरक्रिया आदिबाट निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । व्यापार जन्य व्यवसायीको लागि पनि सन्तोषप्रद दिन रहेनेछ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने सामान्यतया कठिनाइको सामना गरिरहनु हुनेहरुले कठिनाईको न्यूनिकरणको लागि भगवान श्री गणेशको स्तुति दर्शन भक्ति गर्नु उपयुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया