maoist-office

२३ मंसिर काठमाडाैं / एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले जनतामा जाने कार्ययोजना तत्काल ल्याउन नेतृत्वसमक्ष माग गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंगलबार बोल्दै उनीहरूले पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावना र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न नेतृत्वलाई दबाब दिएका हुन् ।

उनीहरूले पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट पछि हट्ने, सुख–दुस्खमा साथ नदिने प्रवृत्तिले क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधार गर्नु आवश्यक भएको धारणा राखेका थिए । मुलुकको राष्ट्रिय अस्मिता संकटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाका बारेमा ध्यान दिन नसकेको भन्दै सदस्यहरूले भने शीर्ष नेतृत्वप्रति असन्तुष्टिसमेत प्रकट गरेका थिए ।

उनीहरूले विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउनसमेत जोड दिएका थिए । संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयन गराउनु पार्टीको प्रमुख दायित्व भए पनि पार्टीले राख्दै आएको फरक मतलाई पनि सँगसँगै जनतामा लैजानुपर्ने धारणासमेत उनीहरूको रहेकाे अाजकाे कान्तिपूर दैनिकले समाचार छापेकाे छ ।

 

तपाईको प्रतिक्रिया