इनरुवा /सुनसरीको इनरुवामा प्रहरी र नागरिकबिच अन्र्तकृयाको आयोजना गरिएको छ ।सामाजिक कुसंस्कार, कुरिती, अपराधजन्य घटना न्यूनिकरण र नागरिक प्रहरीबिचको भूमिका बारेमा कार्यक्रममा छलफल चलाइएको थियो । शान्तिदीप नेपालले आयोजना गरेको कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम सहित सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझी लगायत मातहतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीका साथै सर्वसाधारणको उपस्थिती रहेको थियो ।इनरुवा नगरपालिकाको उपप्रमुख जमुना पोखरेलले शान्तिदीपमा आवद्ध युवा जमातले छोटो समयमा हात पार्दै गएको सफलता उदाहरणीय बन्दै गएको धारणा राखेकि थिइन् ।


पोखरेलले प्रहरी र जनताबिचको सम्वन्ध सुमधुर रहेको र आगामी दिनमा थप मजबुत हुने भन्दै स्थानीय तहको शान्ति सुरक्षा अब्बल र सबैले अनुभूति गर्ने खाले हुनेमा विश्वस्त रहेको बताइन् । जसकालागि सबैका साथ र सहयोगको खाँचो रहेको उनको भनाई थियो । कार्यक्रममा जिल्लाको सम्रग सुरक्षा अवस्था र नागरिकले खेल्नु पर्ने भूमिकाका बारेमा एसपी विद्यानन्द माझीले प्रस्ट्याएका थिए । एसपी माझीले शान्ति सुब्यवस्था कायम गर्ने सवालमा आम सर्वसाधारणको साथ र सहयोगको अपरिहार्यता औल्याए ।


कार्यक्रमका सहभागि सर्वसाधारणले शान्ति सुरक्षाको अवस्थामा सुधार आएपनि चोरी तस्करी जस्ता घटनामा कमी आउन नसकेको धारणा राखेका थिए । संस्थाका अध्यक्ष सुभाष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव चक्र चौलागाईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया