कोशी अञ्चलमा म्याद नाघिसकेका पुराना सवारी साधनहरु बिना रोकटोक सञ्चालन भइरहेका छन् । सरकारले म्याद नाघेका सवारी साधनहरुलाई विस्थापित गर्ने नीतिलाई प्रभावकारी बनाउन नसक्दा सडकमा धेरै पुराना सवारी साधनहरु सडकमा प्रशस्त मात्रामा देखिन थालेका हुन् ।नीति-नियमलाई कडाइ गर्न नसक्दा सडकमा पुराना सवारी साधन टाउको दुखाइको विषय बन्दै गएका छन् ।

म्याद गुज्रेका सवारी साधनले वायु प्रदुषण गरेपनि काठमाडौ उपत्यका बाहेकका क्षेत्रमा मेसिन नभएका कारण त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन । सरकारको नीतिकै कारण लामो अवधि भएका सवारी साधनले पनि सामान फेरेर चलाउने गरेका कारण फेज आउट गर्न नसकिएको कोशी अञ्चल यातायात कार्यालयले स्वीकार गरेको छ । पुराना थोत्रा गाडी फेज आउट नगर्दा सडकमा सवारी आगमनमा समेत समस्या हुने गरेको छ ।

1212

नेपालसँग सीमा जोडिएका भारतीय नाकाबाट धेरै सवारी साधन नेपाल प्रवेश गर्ने गरेको र यसबाट वातावरण प्रदुषण हुने गरेपनि सम्बन्धित निकायले त्यसलाई नियन्त्रण गर्न सकेको छैन । यसरी प्रवेश गर्ने सवारी साधनहरु के कति सङ्ख्यामा प्रवेश गरिरहेका छन् भनेर यकिन तथ्यांक पाउन सकिएको छैन । सरकारले भन्सार कार्यालयबाट राजस्व बुझाएर प्रवेश गर्ने भनिएपनि सबैले यो नियम पालना गरेका छैनन् ।

कोशी अञ्चल यातायात कार्यालयका प्रमुख विष्णु पौडेल भने दुई वर्षभित्र पुरानो गाडी नष्ट गर्ने भनिसके पनि अहिले नै गर भन्न सक्ने अवस्था नभएको बताउँछन् । कोशी अञ्चल यातायात कार्यालयमा स्थापना कालदेखि हालसम्म २ लाख ३५ हजार ८ सय ६० वटा सवारी साधन दर्ता भएका छन् । बस, मिनीबस, मिनी ट्रक, क्रेनडोजर, स्काभेटर, लोडर, ट्रक, ट्रिपर गरी ६ हजार १ सय ४५ वटा रहेका छन् ।

यस्तै कार, जीप, भ्यान, पिकअप र माईक्रो गरी ११ हजार १ सय १४ वटा रहेको कोशी अञ्चल यातायात कार्यालयका लक्ष्मी अधिकारीले बताए । उनका अनुसार टेम्पो १ हजार ६ सय १६ वटा छन् भने हालसम्म मोटरसाइकल २ लाख ३ हजार ४ सय ७५ वटा दर्ता भएका छन् । ट्रयाक्टर, पावर ट्रेलर १३ हजार ४ सय ३५ वटा दर्ता भएको अधिकारीको भनाइ छ । त्यसमध्ये बस, टेम्पो लगायतका सवारी साधनहरुमा अधिकांश पुराना थोत्रा भएको उनी स्वीकार गर्छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी पवनकुमार गिरीले कोशी अञ्चल यातायात कार्यालयमा अत्याधिक सवारी साधन दर्ता भएको कारण सडकमा समस्या हुन थालेको बताए । सवारी दर्तामा सरकारले नसोच्ने हो भने केही वर्षपछि सवारी साधन चल्नै नसक्ने गरेर सडक जाम हुने पक्का भएको उनको धारणा छ ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया