१८ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा ११ औं मधेस सहिद दिवस बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संघिय समाजवादी फोरमको आयोजनामा मधेस सहिद दिवस मनाइएको बताइएको छ । विभिन्न क्षेत्रका मधेसी समाजसेवी,पत्रकार, शहिद परिवार तथा घाइते भएकाहरुलाई संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको बताइएको छ ।

यहाँ मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद दिवस मनाएको हो । संघीय समाजवादी फोरम नेपाल र नेपाल मधेसी निजामति कर्मचारी मञ्चको संयुक्त आयोजनामा बिहीबार सहिद दिवस मनाइएको हो । दिवसको अवसरमा घाइतेहरु र सहिद परिवारहरुलाई सम्मान गरिएको छ । मधेस आन्दोलनको क्रममा विभिन्न क्षेत्र बाट योग्दान गरेको भन्दै सबै पक्षका गरी जिल्लाका करिव २ सय जनालाई सम्मान गरेको छ ।

कार्यक्रममा मधेस आन्दोलनको क्रममा अाफ्नो सञ्चार मध्यमबाट अतुल्निय योग्दान पुर्याइएको भन्दै पपुलर एफ एमका स्टेशन म्यानेजर प्रकाश मेहता, गोराखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव, राष्ट्रिय समाचार समितिका इनरुवा समाचारदाता अजितकुमार झा, स्मार्ट सिटीका पत्रकार दिपेन्द्र यादव, प्रकाश मेहता अनुराग, वर्णमालाका राजेन्द्र पोखरेल, प्रतिक्षणका इकवाल अहमद, प्रमोद यादव, चन्दन गुप्ता लगायतकालाई सम्मान गरिएको फोरमले जनाएको छ।

त्यसैगरी मधेस आन्दोलनका क्रममा घाइते भएका जगनाथ मण्डल, रामि मेहता, निरोश मेहता, मुलचन्द यादव, मनोज यादव लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको छ । यसैगरी आन्दोलनका क्रममा सहिद भएका श्यामसुन्दर मेहता, गंगा दास तत्मा, बिष्कुट मियाँ, हरी मेहता लगायतका परिवारजनलाई सम्मान गरेको फोरमका इनरुवा अध्यक्ष अभिनन्द कुमार यादवले जानकारी दिनुभयो । सम्मानितहरुलाई फुल माला, दोसल्ला र सम्मानपत्र बाट सम्मान गरिएको बताइएको छ ।

कार्यक्रममा मधेस आन्दोलनको औचित्य र आवश्यक्ताको बारेमा छलफल र प्रवचन कार्यक्रम समेत थियो । कार्यक्रममा फोरमका राष्ट्रिय अध्यक्ष तथा प्रतिनीधिसभा सदस्य उपेन्द्र यादवले राजनीतिक परिवर्तनमा सहिदहरुले देखाएको बाटो र उनीहरुको सपना साकार पार्नका लागि आफूहरु लागि पर्ने बताउनुभयो । यादवले देश अहिले पनि प्रमुख तीन दलको कब्जामा रहेकाले आदिवासी, जनजाति, थारु, मधेसी, मुस्लिम लगातयका उत्पीडित जाती, समूदायहरु अझैपनि अधिकार र पहिचानको पूर्ण प्रत्याभूत गर्न नपाएकोले त्यसलाई पुरा गर्न आफू लागिपरेको बताउनुभयो ।

यादवले सहिदहरुको सपना राज्यमा जनसंख्याको आधारमा हरेक तहमा पँहुच नभएसम्म पुरा नहुने भएकाले आफू त्यसैको संघर्षमा रहेको बताउनुभयो । उँहाले आफू सहिदहरुको पूर्ण सम्मान गर्दै अगाडि बढ्ने नेता भएकाले त्रुटिपूर्ण संविधानलाई संशोधन गराई बाकी रहेको सपनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यकर्ताहरुले सरकारमा जाने कुरा के रहेको हो भनेर स्पष्ट पार्न भन्दा यादवले संविधान संशोधन नभई सरकारमा जाने कुरा हल्ला मात्र रहने प्रतिकृया दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रमिला यादव, प्रदेश सांसद जयराम यादव, नेताहरु पदम अधिकारी, जितु खेरवार, कमलेश्री खेरवार, मनोज यादव, महेन्द्र यादव लगायतका शिर्ष नेताहरुले समेत संम्बोधन गर्नुभएको थियो । नेताहरुले सहिदहरुको सपना साकारका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

यसैबिच दिवसको अवसरमा सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सहिद श्यामसु्न्दर प्राथमिक विद्यालयमा शैक्षिक सामग्री र फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । सहिद पीता शिवनारायण मेहताको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री तथा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको स्थानीय रामरुप मेहताले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थी बालबालिकाहरुलाई कापी, डटपेन लगायतका शैक्षिक सामग्री तथा फलफुल वितरण गरेकोे बताइएको छ । सहिद श्यामसुन्दर मेहताको स्मृतिमा सो ठाउँमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया