इनरुवा माघ २३ /प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलको नेता को हुने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन् । आकांक्षीको दौडमा तीन जना नेताले दाबेदारी नछाडेपछि प्रमुख प्रतिपक्षी दलको नेता को हुने भन्ने विषय टुङ्गो लाग्न सकेको छैन् । प्रदेश नम्वर १ मा बामगठबन्धनको दुई तिहाई मत रहँदा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको छ ।

प्रदेश नम्वर १ को विपक्षी दलको नेताकालागि सुनसरीबाट राजिब कोइरालासँगै मोरङका केदार कार्की र उदयपुरबाट प्रदेश सभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचित हिमाल कार्की दाबेदारका रुपमा रहेका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्वर २ ख बाट निर्वाचित कोइराला नेपाली कांग्रेस सुनसरीका सभापति समेत हुन् । जिल्ला पार्टी पंक्तिमा लामो समययता आवद्ध रहेका कोइराला प्रमुख प्रतिपक्षी दलको नेताको दौडमा रहेका पार्टी भित्रकै अन्य दुई प्रतिष्पर्धीको तुलनामा सिनियर हुन् ।

कोइराला नेतृत्वकै कांग्रेसले सुनसरीमा ऐतिहासिक जित निकालेकाले सुनसरी कांग्रेसका अगुवा नेता तथा कार्यकर्ता प्रमुख प्रतिपक्षी दलको नेता कोइराला हुनुपर्ने बताउँछन् । मूलुकका अन्य स्थानमा पार्टीले नराम्रोसँग पराजितहुँदा सुनसरीमा प्रतिनिधि सभा सदस्य तर्फ ४ सिटमध्ये ३ मा नेपाली कांग्रेसले बाजी मारेकाले सभापति कोइरालाको योगदानको मूल्याङकन हुनेमा आफु ढुक्क रहेको सुनसरी कांग्रेसका सचिव केदार भण्डारी बताउँछन् ।

सबैलाई मिलाएर लान सक्ने र पार्टीलाई जिल्लामा मजबुत अवस्थामा पुर्याउन सफल भएकाले पनि कोइरालाको बिकल्प नरहेको युवा नेता बिरेन्द्र साहको भनाई छ । कोइरालाले समेत दलको नेता बन्न सिङ्गो जिल्ला पार्टीपंक्ति र कार्यकर्ताहरुबाट साथ र समर्थन सहित प्रस्ताव आएकाले आफ्नो दाबेदारी कायम रहेको बताए । कोइरालाले पार्टीमा आफ्नो भूमिका र प्रतिनीधि सभा सदस्य निर्वाचनमा हात पारेको सफलता प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षी दलको नेताकालागि आफनो दाबेदारी मजबुत कडी भएको बताए । ९३ जना प्रदेशसभा सदस्य रहेको १ नम्वरमा कांग्रेसका २१ सदस्य छन् । कोइरालाले आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका छन् ।

राजिक कोइरालाको पक्षमा सुनसरीका तीन मंत्रीको समेत समर्थन देखिएको छ । उपप्रधान मंत्री बिजयकुमार गच्छदार, अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्य मंत्री मिन विश्वकर्मा कोइरालालाई प्रदेश १ को प्रमुख प्रतिपक्षी दलको नेता बनाउन केन्द्रिय तहमा लबिङमा जुटेका छन् ।
अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीका विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा सहभागिताका क्रममा पार्टी जिल्ला सभापति समेत रहेका कोइरालालाई प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षी दलको नेता बनाउने पक्षमा आफु लगायत सुनसरीका सबै मंत्रीहरु लागिपरेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया